बागलुङ, -- नेकपा (एमाले)ले बागलुङ–१ र २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गाएको छ । बागलुङ–१ मा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी र २ मा मञ्जु शर्मा चालिसे उम्मेदवार बनेकी हुन् । दुवै उम्मेदवार बागलुङका लागि नयाँ अनुहार भने होइनन् । एमाले केन्द्रीय सदस्य चासिले यसअघि २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलसँग पराजित भएकी थिइन् ।
उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएकी थिइन् । एमाले जिल्ला अध्यक्ष केसी २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ–१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापासँग पराजित भएका थिए । केसी २०७० को दोस्रो संविधानसभा निर्वाचनमासमेत बागलुङ–१ बाट निर्वाचन लडेका थिए । त्योबेला उनी नेपाली काँग्रेसका उम्मेदवार हरिबहादुर खड्का (हाल दिवङ्गत)सँग पराजित भएका थिए ।
एमालेले बागलुङ–१ का लागि केसीसहित केन्द्रीय सदस्य मनकुमारी केसी जिसी र इन्द्रलाल सापकोटाको नाम उम्मेदवार सिफारिस गरेको थियो । बागलुङ–२ बाट भने चालिसेको एकल नाम सिफारिस भएको थियो । शनिबार बसेको एमाले सचिवावलय बैठकले बागलुङसहित देशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको हो ।