बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगरपालिका समितिले जेठ २३ गते सम्पन्न रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरसभापती राजेन्द्र पुनद्वारा जारी विज्ञप्तिमा पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रक्रिया तथा सदस्यहरूको सार्वभौम अधिकारलाई सम्मान गर्दै अधिवेशन सम्पन्न हुनुपर्ने अपेक्षा रहे पनि अधिवेशनका क्रममा भएका केही गतिविधि र निर्णयले सदस्य, प्रतिनिधि तथा कार्यकर्ताहरूमा असन्तुष्टि र प्रश्न उत्पन्न गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा विशेषगरी सहमतिको नाममा गरिएका निर्णय, उम्मेदवारहरूको आकांक्षा तथा प्रतिनिधिहरूको मताधिकारलाई पर्याप्त अवसर नदिइएको विषयप्रति असहमति जनाइएको छ। निर्णय प्रक्रियामा पारदर्शिता र सहभागिताको कमी देखिएको भन्दै गलकोट नगर समितिले अधिवेशनको समग्र प्रक्रियामाथि प्रश्न उठाएको छ।
गलकोट नगर समितिले रास्वपा विधि, विचार र संस्थागत प्रक्रियाबाट चल्ने पार्टी भएकाले नेतृत्व चयन र निर्णय प्रक्रिया लोकतान्त्रिक अभ्यास, निष्पक्षता, पारदर्शिता तथा सदस्यहरूको सम्मानका आधारमा हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेको छ।
विज्ञप्तिमार्फत जिल्ला अधिवेशनका सम्पूर्ण प्रक्रिया, निर्णय र घटनाक्रमबारे सम्बन्धित निकायबाट वस्तुगत समीक्षा गरी उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिन तथा भविष्यमा यस्ता विवाद र असन्तुष्टि दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चाल्न माग गरिएको छ।
साथै, पार्टीको एकता, विधि र लोकतान्त्रिक संस्कृतिप्रति आफूहरू सदैव प्रतिबद्ध रहेको जनाउँदै गलकोट नगर समितिले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई संयमित, जिम्मेवार र पार्टीको उज्ज्वल भविष्यप्रति केन्द्रित रहन आग्रह गरेको छ।
रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला नेतृत्व चयनको प्रक्रिया र त्यससँग सम्बन्धित विषयलाई लिएर पार्टीभित्र विभिन्न तहबाट प्रतिक्रिया आउन थालेका छन्। अधिवेशनले पुनम शर्माको नेतृत्वमा नयाँ जिल्ला समिति घोषणा गरे पनि प्रक्रियामाथि उठेका प्रश्न, उम्मेदवारहरूको असन्तुष्टि र निर्वाचन समितिको भूमिकालाई लिएर पार्टीभित्र बहस शुरु भएको छ।