बागलुङ - चाडपर्वहरु नजिकिए सँगै बागलुङ जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य तीन नाकामा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।
चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए । बागलुङ जिल्लाको मुख्य नाका बागलुङ नगरपालिका–१ को मालढुंगा, गलकोटको हटिया बजार र बुर्तिबाङ बजारमा सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको न्यूरेले जानकारी दिए । चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न २४ घण्टे सहायता कक्षको स्थापना गरिएको निउरेले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासोको सुनुवाइ गर्नुको साथै दोषीलाई कारवाही पनि गरिने छ । साथै सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन गरिने बताए । ।
यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भए तत्काल सहायता कक्षबाट समाधान गरिने ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिए । चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम जानकारी दिए ।