बागलुङ- नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन । आगामी पुस २३ गते हुने एमाले बागलुङको नवौंं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । एमाले बागलुङका वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश सदस्य ममतादेवी शर्माले जिल्ला नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् । यस अगाडि बागलुङ नगर प्रमुख जनकराज पौडेल र जिल्ला सचिव विष्णु भुसालले पनि अध्यक्षको दाबी गरेको भनिए पनि उनीहरु नेतृत्वको दाबीबाट पछि हटेको बताइएको छ । प्रेस चौतारी नेपाल बागलुङले मंगलबार बागलुङमा आयोजना गरेको जिल्ला अध्यक्ष पदका आकाङ्क्षीबीच गरेको अन्तरसंवाद कार्यक्रम उनीहरु तीनै जनाले आफूले आगामी २३ र २४ गते हुने एमाले जिल्ला अधिवेशनमा आफूले अध्यक्ष पदमा विजयी बन्ने दाबी गरेका छन् ।
सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा एकमत जस्तै देखिएका उनीहरुले प्रजातान्त्रिक प्रक्रियाको रुपमा रहेको निर्वाचनमा गएमा प्रतिनिधिहरुले आफूलाई मत दिएर विजयी गराउने उनीहरु तीनै जनाको दाबी थियो ।
प्राकृतिक रुपमा अध्यक्षको उम्मेदवार हुँ: कृष्ण पाठक
अध्यक्षका लागि दाबि गरेका कार्यबाहक जिल्ला अध्यक्ष कृष्ण पाठकले आफू प्राकृतिक उम्मेदवार भएकाले आफू नै आगामी अध्यक्ष भएको दाबी गरेको बताए । ‘अध्यक्ष दाबी गरेक ामध्ये म नै जेठो कम्युनिष्ट सदस्य हुँ, हाम्रो पार्टी युवा र प्रौढको मिश्रणबाट बनेको छ,’ पाठकले भने,‘मैले ११ जना अध्यक्षसंग काम गरेको छु । अहिलेसम्म मूल नेतृत्व सम्हालेको छैन । अहिले कायवाहक अध्यक्ष भएको पनि दुई महिना भएको छैन । त्यसैले पनि अबको स्वाभाविक अध्यक्षको उम्मेदवार म हुूँ ।’
आफ्नो अनुभव र आत्मबलले गर्दा पनि प्रतिनिधिहरुले आफूलाई एमाले अध्यक्षको रुपमा छनोट गर्ने उनले विश्वास व्यक्त गरे । ‘अहिले एमाले विरुद्ध लागेका शक्तिलाई परास्त गर्नका लागि पनि मेरो अनुभव र आत्मबलले प्रतिस्पर्धी पार्टीलाई पछाडि पार्ने योजना मसंग छ,’ पाठकले भने,‘एमाले विरुद्धको शक्तिलाई परास्त गर्नका लागि भावना र चर्का कुराले मात्रै हुँदैन । योजना बनाउनुपर्ने हुन्छ त्यसको लागि म अगाडि बढेको छु ।’ वर्तमान कार्यबाहक अध्यक्ष पनि भएकाले न्यायोजित र प्राकृतिक हिसाबले नै आफू अध्यक्ष भएको उनको दाबी थियो । पार्टीमा कार्यकर्ता व्यवस्थापन र जिम्मेवारीमा समस्याले देखिएकाले रोस्टर निर्माण गरेर कार्यान्वयन गर्ने उनको दाबी छ । नेपाली काँग्रेस नै बागलुङमा एमालेको मुख्य प्रतिस्पर्धी भएकाले अन्य वामपन्थी शक्तिलाई गोलबन्द गर्ने उनले बताए ।
तिन वर्षमा १२ हजार संगठिन सदस्य पु¥याउने छौं ः हिरा केसी
अध्यक्षका अर्का आकंक्षी हिराबहादुर केसीले एमालेमा आकर्षण बढेको भन्दै तीन वर्षमा १२ हजार संगठित सदस्य पु¥याउने बताए । ‘एमालेमा आकर्षण बढेको छ, अहिले पाँच हजार बढी सदस्य छौं,’ उनी भन्छन्,‘त्यसलाई १२ हजार पु¥याउने र विद्युतीय प्रणालीमा सदस्यता अपडेट गरेर सजिलैसंग सम्पर्क स्थापित गर्न सकिने व्यवस्था गर्ने व्यवस्था गर्नेछु ।’
उनले अनेमसंघमा २० हजार, अनरास्ववियुमा १० हजार लगायत गरी जनवर्गीय संगठनहरुमा ५० हजार सदस्य पु¥याई जिल्लामा ६२ हजारलाई एमालेमा आबद्ध गराउने उनको भनाइ थियो । उनले अहिले पनि ३७ वटा वडाबाट एक जना मात्रै खुलातर्फ प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने अवस्था रहेकाले तीन वर्षमा ती ठाउँहरुमा पाँच गुणा सदस्यता विस्तार गर्ने समेत दाबी गरे ।
‘यहाँका कतिपय वडाबाट १४÷१५ जना जिल्ला प्रतिनिधि छनोट हुँदा ३७ वडामा एक जना मात्रै खुला प्रतिनिधि छनोट भएर आउनुपर्ने अवस्था छ,’ उनले भने,‘ती ठाउँहरुमा सङ्गठन विस्तार गरी पार्टीलाई बलियो बनाएर ती ठाउँबाट पाँच गुणा बढी खुला प्रतिनिधि आउने वातावरण बनाउँछु ।’ उनले बागलुङमा यस अघिको निर्वाचमा एमालेले जम्मा २६ प्रतिशत जनप्रतिनिधि जितेको भन्दै त्यसलाई ४० प्रतिशत पु¥याउने दाबी गरे । आफ्ना सहकर्मीहरु सबै केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज बनेर आएकाले आफू जिल्ला अध्यक्षमा सबैभन्दा उपयुक्त पात्र भएको र त्यसबाट सबैभन्दा राम्रो नतिजा निकाल्न सकिने उनको दाबी छ । ‘पाँच सय जनालाई युवालाई इन्टरपेनर बनाउने र पाँच युवालाई स्वदेश फर्काई जीविकोपार्जनको क्षेत्रमा जोड्ने मेरो काम हुनेछ, अब आर्थिक समृद्धिको विषयलाई पार्टीले नसमेट्ने हो भने राजनीतिप्रतिको वितृष्णा झ्न बढेर जान्छ,’ केसीले भने । उनले बागलुङ जिल्लाको आफ्नो मानक निर्माण गरेर अन्य जिल्लाले अनुशरण गर्ने वातावरण बनाउने समेत दाबी गरे ।
टोल–टोलमा प्रशिक्षण चलाउने छौं: ममता देवी शर्मा
अध्यक्ष पदका लागि दाबी गरेकी ममतादेवी शर्माले नेता कार्यकर्तालाई माक्र्सवादी दर्शनबाट खार्नका लागि टोल टोलमा प्रशिक्षण चलाउने बताइन् । ‘कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु माक्र्सवादी दर्शनबाट दीक्षित हुनपर्छ,’ उनले भनिन्, ‘बीचमा माओवादी संगको एकताका कारण हाम्रो संगठन गतिविधिहरु पनि ठप्प भएका थिए ।
अब त्यसलाई नयाँ गति दिएर पार्टीलाई अगाडि बढाउँछु । जनवर्गीय सङ्गठनहरुलाई चलायमान बनाउँछु ।’ उनले एमालेका पार्टी सदस्य बढाएर २० हजार पु¥याउने बताइन् । ‘अहिले हामीसंग पाँच हजार भन्दा केही बढी पार्टी सदस्य छौं, त्यसलाई चार गुणा बढाएर २० हजार पु¥याउने मेरो उद्देश्य छ । समावेशी हिसाबले पार्टीलाई अगाडि बढाउनेछु,’ शर्माले भनिन् ।
उनले वार्षिक कार्ययोजना बनाई भेला र छलफललाई तिब्रता दिने र सार्वजनिक सुनुवाई समेत गर्ने बताइन् । ‘एउटा राजनीतिक दल सार्वजनिक निकाय हो,यसका गतिविधिहरु पारदर्शी हुनु जरुरी छ, त्यसका लागि सार्वजनिक सुनुवाई गर्छु,’ उनी भन्छिन्,‘पार्टीमा योगदान गरेको पूर्व नेताहरुको जीवनी तयार गर्ने काम गर्नेछु ।’ पार्टीका कार्यकर्तालाई आयआर्जनसंग जोड्ने योजना बनाएर त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग पहल गर्ने उनको भनाइ छ ।
दोहोरो लेखा प्रणाली राखेर पार्टीलाईं पारदर्शी बनाउने तथा दुर्गम क्षेत्रबाट पार्टी कामका लागि सदरमुकाम आउनेहरुलाई लक्षित गरी होस्टेल सञ्चालन गर्ने उनले बताइन् । ‘निसी तमानबाट पार्टी बैठकका लागि बागलुङ आउनुप¥यो भने १५/२० हजार रुपैयाँ गोजीमा नभई आउन नसकिने अवस्था छ,’ उनी भन्छिन्,‘त्यस खालको समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट कोष सङ्कलन गरेर होस्टेल सञ्चालन गर्ने मेरो योजना रहेको छ ।’
उनले आफू अध्यक्ष निर्वाचित भएपछि तीन वर्ष कुनै पनि लाभको पदमा नखोजेर केवल पार्टी निर्माणको काममा लाग्ने उनले बताइन् । अध्यक्षका उम्मेदवार पाठक यस अघिका जिल्ला समितिमा पनि बसरे काम गरेका थिए भने केसीले युवा संघ हुदै पार्टीको विभिन्न जिम्मेवारीमा बसेर पनि काम गरेका थिए । त्यसैगरी शर्माले पनि अनेमसंघ लगायतका संस्थामा काम गरेको लामो अनुभव रहेको छ ।
प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा भएको अन्तरसंवाद कार्यक्रममा स्वागत उपाध्यक्ष नवीन शिशिर विक र सञ्चालन सचिव सिर्जना पन्तले गरेकी थिइन् ।