निशानको उपचारमा सहयोगको अपिल

  • चैत १४, २०७८

बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षीय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएका कारण परिवारले उपचारका लागि सहयोगको अपिल गरेको छ । बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका बोहोराको घुट्टामा गम्भिर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । 

दूई चरणको शल्यक्रिया सम्पन्न भइसकेको बोहोराको तेस्रो चरणको  शल्यक्रिया गर्न अर्थअभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । 
परिवारले आइतबार पत्रकार सम्मेलन गरी सहयोग गरिदिन आग्रह गरेको छ ।  घाइते निसानकी  आमा पूर्ण बोहोराले छोराको उपचारमा अहिलेसम्म आफन्तको सहयोगमा गरे पनि ते्रसो चरणको शल्यक्रियाको लागि आर्थिक अभाव भएको बताइन् ।  पत्रकार सम्मेलन मार्फत उनले देश विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोगको अपिल गरेकी छन् । 

 “पारिवारिक समस्याका कारण शुरुमा उपचारको कुनै चाँजो पाँचो भएन, बाबुले समेत भनेन, पछि खुट्टामा घाउ भएपछि संक्रमण फैलियो” निशानकी आमा पूर्णा बोहोराले भनिन् “धेरै समस्या आएपछि बागलुङको धौलागिरी अस्पतालमा उपचार गरियो, त्यसपछि अस्पतालले पोखरा पठायो एक महिना भयो चोट लागेको अहिलेसम्म दुई वटा शल्यक्रिया भएको छ ।”

बोहोराको फागुन १३ गते खुट्टामा चोट लागेको थियो । परिवारले समेत उपचारमा सहयोग गरेपछि निशानकी आमा पूर्णाले केही स्थानीयहरुको सहयोगमा ‘निशान बोहोरा सहयोग अभियान’ सञ्चालन गरिएको र हालसम्म रु. ६० हजार सहयोग सङ्कलन भइसकेको छ ।

निशानको उपचारमा अझै तीन लाख खर्च लाग्ने परिवारको भनाइ छ । अहिले निशानकी आमा पोखरामा उपचाररत छोरा छोडेर सहयोग संकलन अभियानमा जुटेकी छन् ।  उनले छोराका उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।  निशानको उपचारमा सहयोग गर्नका लागि उनकी आमा पूर्णा बोहोराको मोवाइल ९८०६१६४४१६ मा सम्पर्क गर्न सकिने छ । 
 

प्रतिक्रिया