मतदाताको गुनासोः एक्यापबाट छुटकारा चाहियो, बराल भन्छन्- एक्याप जनताकै हुनुपर्छ

  • कार्तिक २४, २०७९

पोखरा-कास्कीको घान्द्रुकबाट सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अव जनतामा हस्तान्तरण हुनुपर्ने आवाज सवत्र उठिरहेको छ । कास्की ३ (ख) का कांग्रेस उम्मेद्वार प्रकाश बरालले उक्त क्षेत्र जनताले नै हुर्काएका कारण उनीहरुले उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

चुनावी घरदैलोका क्रममा अन्नपूर्ण आयोजनामा पुगेका बरालले एक्यापलाई जनस्तरमा हस्तान्तरण गर्नुपर्ने बताए । ‘जनताले दुख गरेर जनावरसँग जुधेर हुर्काएको क्षेत्र हो एक्याप । यो क्षेत्र अब जनताकै नाममा हुनुपर्छ,’ उनले भने, ‘स्थानीयले उपभोग गर्न नपाए जोगाएको के अर्थ भयो ? एक्यापलाई समुदायमा हस्तान्तरण गरिनुपर्छ । म त्यसको नेतृत्व गर्छु ।’ कास्की २ (ख) का अधिकाशं वडाहरुमा एक्याप कार्यरत छ ।

एक्याप भित्रको श्रोत साधन उपभोगका विषयमा दैनिकजसो स्थानीयसँग द्धन्द्ध हुने गरेको छ । स्थानीय सरकारले पनि एक्यापको श्रोत आफुले पाउनुपर्ने बताएको छ । ‘देशमा स्थानीय सरकार आइसक्यो । उसको क्षेत्राधिकार भित्रको श्रोत उसले चलाउन पाउनुपर्छ,’ बराल भन्छन्, ‘एक्याप र स्थानीय सरकार समानान्तर रुपमा चल्दा नागरिकले दुख पाए । यसको निकास निकाल्नै पर्छ ।’ बरालले एक्यापबाट प्राप्त हुने सबै श्रोतमा स्थानीयकै अधिकार स्थापित गर्न आग्रह गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरुले एक्यापका दुखबारे सुनाएका थिए । ‘एउटा काठको टुक्रा ल्याउन पाईंदैन । एउटा ढुंगा निकाल्यो भने जरिवाना लाग्छ । जेल जानुपर्छ,’ उनीहरुले भने, ‘यस्तो पीडा लिएर कति दिन चल्छ ? हामीलाई एक्यापबाट छुटकारा चाहियो ।’

विशेषगरी घान्द्रुक, बीरेठाँटी, तोल्का लगायत क्षेत्रका मतदाताले एक्याप विरुद्ध बोलिदिन उम्मेद्वारसँग आग्रह गरेका छन् । यसअघि यहाँका नागरिकहरुले एक्याप कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर दुख नदिने सर्तमा उक्त तालाबन्दी खुला भएको थियो । एक्याप करिव २ वर्षदेखि विना नवीकरण चलिरहेको छ । यसबारे संघ सरकारले मात्रै निर्णय गर्न पाउँछ । तर कुनै निर्णय नलिँदा एक्यापबारे अन्यौल कायम छ ।

प्रतिक्रिया