बागलुङ बजारको सडक मर्मत र कालोपत्रे

  • जेठ ५, २०८०

बागलुङ । केही दिन अगाडिसम्म बागलुङ बजार भित्रका अधिकांस सडकमा खाल्टाखुल्टी थिए । त्यो खाल्डाखुल्डीले आम नागरिकलाई आजित बनायो भने विरोधीहरुलाई मसला पनि बन्यो । त्यही बजारका सडकमा देखिएको खाल्टाखुल्टी देखाएर विरोधीले बागलुङ नगरपालिकामाथि निशाना साँधे । अहिले नगर क्षेत्र भित्रको सडक धमाधम मर्मत सुरु भएको छ । अब बागलुङ बजारमा खाल्टाखुल्टीका कारण सास्ती खेप्न नपर्ने भएको छ । बागलुङ बजारका सडकमा लामो समयदेखि खाल्टाखुल्टी हुँदा यात्रुलाई समस्या भएको थियो । अहिले चिटिक्क पारिँदै छ । 
बजार भित्रका खाल्टाखुल्टीले बजारको सौन्दर्यमा प्रत्यक्ष असर पार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएपछि कालोपत्र थालिएको हो । सडक कालोपत्र भएपछि धुलो उड्ने समस्यामाबाट हैरानी खेपेका स्थानीयले पनि राहत पाउने भएका छन् । बागलुङको मुख्य बजार क्षेत्रको सबै सडकको मर्मतका लागि ठेक्का आह्वान गरेर काम अगाडि बढिसकेको बागलुङ नगरपालिकाले जनाएको छ । अहिले बागलुङको पुराना जिविसचोक (ट्राफिकचोक)देखि जीपपार्कचोकसम्म कालोपत्रेको काम भैसकेको छ । बागलुङको मुख्य बजार रहेको क्षेत्र बागलुङ नगरपालिका भित्रको वडा नम्बर २ र ३ मा पर्ने एक हजार तीन सय ६० मिटर सडक कालोपत्रे गर्नेगरी काम सुरु भएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए । 
‘बागलुङ बजार भित्रको मुख्य सडकहरु मर्मतको काम सुरु भएको हो,’ उनले भने,‘एक कराड २४ लाख ६२ हजार रुपैयाँमा सक्षम ब्रदर्शले जिम्मा लिएर काम गरिरहेको छ ।’ बानपा—को समीक्षालयचोक—हल्लनचोक, धौलागिरिचोक, जीपपार्क हुँदै राईटरचोकसम्म र श्रीनगरटोलको भित्री बाटो पनि कालोपत्रे गरिनेछ । त्यस्तै देउरालीचोकबाट राधाकृष्णमन्दिरचोक, दुरसञ्चारचोकबाट बुद्धचोकसम्म पनि कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाले जनाएको छ । जेठ भित्रै काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई जिम्मा दिएको गिरीले बताए । ‘जेठ भित्रै निर्माण सक्नेगरी जिम्मा दिएका छौं,’ उनले भने,‘यहाँको सडकको मुख्य समस्या अब समाधानको क्रममा रहेको छ ।’ असारसम्म सम्झौता भए पनि जेठको २० गतेभित्र सबै काम सक्नेगरी काम भैरहेको सक्षम ब्रदर्शका मनोज कार्कीले बताए ।
 ‘सम्झौताले असार मसान्तसम्मको समय छ, हामी जेठ २० भित्रै काम सक्ने तयारीमा छौं,’ उनले भने,‘काम गरिरहेको बेला सवारी साधनले धेरै नै डिस्टर्व गरिरहेका छन् । काम गर्नका लागि अरु समस्या छैन ।’ बागलुङ बजार क्षेत्र भित्र शहरी ढल निकासको परियोजना सञ्चालनमा आउने र त्यसका लागि बजार भित्रको सडक खन्नुपर्ने भएकाले तत्काल मर्मत गर्दा दोहोरो खर्च हुने भन्दै आएको बागलुङ नगरपालिकाले अहिले आएर काम थालेको छ । ढल निकासको काम तत्कालै सुरु नहुने परिस्थीति देखिएकाले सडक मर्मत थालिएको बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘ढल निकासको कामले गर्दा फेरी तत्कालै बाटो खन्दा दोहोरो खर्च हुन्छ भन्ने हिसाबले हामीले मर्मतको काम रोकिराखेका थियौं,’नगरप्रमुख श्रेष्ठले भने,‘त्यसका लागि पुनः डिपिआर तयार गर्नुपर्ने भएकाले अलि समय लाग्ने भयो । त्यसपछि हामीले नगरपालिकाको आकस्मिक कोषबाट सडक मर्मत थालेका छौं ।’
 नगर क्षेत्रको ढल निकासका लागि नयाँ स्टीमेट तयार गरिएकाले ढिला भएको उनी बताउँछन् । ‘ढलका लागि वन क्षेत्रले बल्ल स्वीकृत गरेको छ, पहिले दुईटा ट्रिटमेन्ट थियो । चिप्लेटी बसपार्कमुनीको ठाउँ अग्लो भएको कारण प्लाष्टिकको पाईपमा जोखिम हुने भएकाले त्यहाँ असम्भव भयो । निरयघाटमा अर्को ट्रिटमेन्ट प्लान्ट थियो । त्यहाँ पनि उचित देखिएन । निरयघाट तिर्थस्थल भयो । शोभनीय भएन,’ उनले भने,‘हामीले कालिका भगवती मन्दिरको पछाडिबाट काठेखोलामा झारेर दुवैतिरको एकै ठाउँमा झारेर काम गर्दा कम खर्च लाग्ने देखिएको छ । त्यो अनुसार काम अगाडि बढाउनका लागि प्रक्रिया अगाडि बढेको छ ।’ 
छिटो गरी काम भएको खण्डमा असार मसान्तसम्म नभए अर्को आर्थिक वर्षको सुरुवातसम्म टेन्डर गर्नगरी काम अगाडि बढाएको उनले बताए । ढल निकासको काम अगाडि बढे पनि त्यो पूरा हुनका लागि तीन वर्ष लाग्ने भएकाले बजार क्षेत्रभित्र धेरै नै समस्या देखिएकाले अहिले नै ममर्त गर्नु परेको उनी बताउँछन् । ‘बजार भित्रको समस्या धेरै भयो, ढलको काम सुरु भए पनि पूरा हुन तीन वर्ष लाग्छ,’उनले भने,‘त्यसैले बजार क्षेत्रको बर्खामा समस्या नपरोस् भनेर अहिले काम गरिउको हो । खाल्टाखुल्टी बढ्दै गएपछि यहाँका स्थानीयहरुले नगरपालिकाको चर्को आलोचना समेत गर्दै आएका थिए । 
 

प्रतिक्रिया