• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • बागलुङ

दरबन्दी अनुसारका कर्मचारी नहुँदा नागरिकलाई सास्ती

  • कार्तिक २४, २०७८

बागलुङ- जिल्लाको पश्चिम क्षेत्रको केन्द्र विन्दु बुर्तिबाङमा रहेको इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । दरबन्दी अनुसारको कर्मचारी नहुँदा नागरिकले सास्ती खेप्न बाध्य भएका हुन । कार्यालयमा पछिल्लो समय मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको छ । एक जना मात्र कर्मचारीको भरमा काम हुने भएका कारण नागरिकले सास्ती खेप्दै आइरहेका छन् । गत भाद्र ११ गतेदेखि सुरु भएको मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका नागरिकको नामावली दर्ता गर्ने कार्यक्रम जारी छ । दैनिक रुपमा भिड हुने इलाका प्रशासनमा दुई /तिन पटकसम्म कार्यालयमा आउँदा समेत समयमा काम हुन नसकेको नागरिकको गुनासो छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ की धनमाया पुन दुई पटकसम्म मतदाता नामावली दर्ताका निम्ती प्रशासनमा आइन् । तर काम भएन । ‘घरबाट दुई पटकसम्म दुई जना आयौँ आज पनि काम भएन, पालै पाइएन एक जना मात्र कर्मचारी हुनुहुँदो रहेछ घरको काम सबै छोडेर आइयो, काम भएन अब भोली बोलाउनु भएको छ, तेश्रो पटकमा के हुने हो थाहा छैन’ पुनले भनिन् । आउँदा जाँदा सवारी भाडा र खाजा खर्चमै पाँच हजार खर्च भएको पुनको भनाई छ । ‘समयमै काम हुँदैन घरमा पशुचौपाया बालबच्चा छोडेर आयौँ साँझ जसरी पनि घर पुग्नु पर्छ’ उनले भनिन् । कर्मचारी अभाव र स्थानीय सरकारले समेत समन्वय नगरेका कारण आफुहरुलाई सास्ती भएको उनको गुनासो छ । वडा वडामा नामावली संकलन गर्ने व्यवस्था गरि दिएको भए यस्तो समस्या नहुने धनमाया सुनाउँछिन् । ढोरपाटन ८ र ९ बाट करिब ढेड सय जना नागरिक बुर्तिबाङमा दुई पटक आइसकेका छन् तर उनीहरुको काम समयमा नभएका कारण हैरान खेपिरहेका छन् ।वडा नम्बर ९ बाट मात्रै १ सय जना नागरिक मतदाता नामावली दर्ताका लागि मंगलबार इलाका प्रशासनमा आए उनीहरु मध्ये जम्मा २० जनाको मात्रै काम भयो अन्य सबै घर फर्किए  अधिकांश दुई पटक आइसकेका छन् । ढोरपाटन ९ का भक्त बहादुर घर्ती भन्छन् ‘दुई पटक भयो आज पनि काम भएन, फेरी आउन भनेका छन् फेरी आउनु पर्ने भयो खर्च मात्रै हुने भयो ।’  मतदाता नामावली दर्ताका लागि हाल इलाका प्रशासन कार्यालय बुर्तिबाङमा १ जना मात्र दर्ता कर्मचारी छन् । दैनिक रुपमा ५०/६० जनाको नामावली दर्ता गराउँदा समेत नागरिकलाई सहज सेवा दिन नसकिएको दर्ता कर्मचारी सर्मिला पुनले बताइन् ।भाद्र ११देखि हालसम्म १९ सय बढि नागरिकले नामावली दर्ता गराएका छन् । अझै दैनिक रुपमा दुई सय बढि नागरिक नामावली दर्ताका लागि आउने गरेका छन् । कात्तिक मसान्तसम्म नामावली दर्ता कार्यक्रम रहेका कारण पछिल्लो समय चाप बढिरहेका छ । मंगलबार मात्रै ८५ जनाको नामावली दर्ता भयो जनप्रतिनिधीले समेत गाउँमा समन्वय गरेर क्रमश पठाएको भए केहि राहात हुने थियो एकै वडाबाट सय जना भन्दा बढि एकै दिन आउँदा भिड बढि भएको छ’ पुनले भनिन् ।

कार्यालय बुर्तिबाङमा ८ जना स्थाई कर्मचारी दरबन्दी रहे पनि हाल २ स्थाई र २ करारका कर्मचारीले काम गर्दै आएका छन् । २०५४ सालदेखि इलाका प्रशासन कार्यालय रहेको उक्त कार्यालय २०६९ सालमा एकिकृत सेवा केन्द्रको रुपमा रह्यो २०७५ सालमा पुनः इलाका प्रशासनको रुपमा रहेर पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका जनताको सेवा दिँदै आइरहेको छ । यस कार्यालमा कर्मचारी अभावकै कारण समयमै काम नभएको भन्दै समय–समयमा नागरिकले गुनासो गर्दै आइरहेका छन् ।  राहधानी, नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, अभिलेख पठाउने, दलित, जनजाती प्रमाणीत, दुई नामथर प्रमाणीत लगाएतका काम गर्दै  आइरहेको प्रशासन कार्यालयमा हाल १ जना नासु, १ जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालनमा रहेको छ । जस मध्ये दुई जना स्थाई र २ जना करारका कर्मचारी छन । २०५४ देखि हालसम्म २४ जना कार्यालय प्रमुख फेरिसके बाहिरी क्षेत्रबाट कार्यालय प्रमुख आए पनि बस्नै नमान्ने कार्यालय प्रमुख लोकबहादुर कुवँरले बताए ।दुई/तिन महिनामै सरुवा लिएर जाने गरेको उनको भनाई छ । दरबन्दी अनुसारको कर्मचारीको समेत परिपूर्ति नभएका कारण आफुहरुलाई समयमै काम गर्नमा असहज भइरहेको कुवँरले बताए । ‘सक्दो सेवा दिइरहेका छौँ, कहिले काही बढि भिड हुँदा समयमै सेवा दिन नसकिएको हो, कार्यालय प्रमुख आउनै मान्नुहुन्न, हालसम्म ४ पटक त मैले मात्रै कार्यालय प्रमुखको रुपमा काम गरेको छु,’ कुँवरले भने ‘ १ अधिकृत, ३ नासु, सह–लेखापाल, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी ८ जनाको दरबन्दी रहे पनि कर्मचारीको परिपूर्ति भने हुन सकेको छैन ।’

प्रतिक्रिया