बागलुङ- नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. १ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ ।
संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो ।
केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन् ।
रानापनि गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचीमा थिइन् ।
सापकोटा पार्टी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य हुन् । उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित थिए । सञ्जाल जनमोर्चाबाट एमालेमा प्रवेश गरेका नेता हुन भने राम कानुन ब्यवसायी हुन् । एमालेले यस अगाडि नै प्रदेश सभाका लागि उमेदवार सिफारिस गरिसकेको छ ।