बागलुङ-जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा २०७६ साल मंसिर २२ गते हस्तान्तरण भएको छिस्ती स्वास्थ्य चौकी जिर्ण बनेको छ । अहिले भवन धेरै ठाउँबाट भत्किएको मात्र छैन पानी पर्दा भवनले ओत समेत दिन सक्ने अवस्था छैन । भवन निर्माणका लागि ओखलढुङ्गा बि.एम.ए जय कालिका जेभिले संयुक्त रुपमा २ करोड ३४ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी पाएका थिए । भवन निर्माण गर्दा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको कारण अहिले भवनमा धेरै समस्या देखिएको स्थानीयहरुले बताएका छन् । पटक–पटक भवनको बारेमा लिखित तथा मौखिक जानकारी गराउँदा कुनै पनि निकायले सुनुवाई नगरेको स्थानीयको भनाई छ ।
स्थानीय जीवन पुन भन्छन् ‘स्वास्थ्यचौकी निर्माण गर्दा प्रयोग भएको सरसामानहरु कामै नलाग्ने थिए । अहिले पानी चुहिने, चर्किने लगायतका समस्याहरु देखिएका छन् । हामीले पटक पटक सरोकारवाला निकायलाई यस बारेमा सचेत गराएका थियौँ, तर यसको बारेमा कसैले पनि चासो दिएनन् ।’ स्वास्थ्य चौकीको भवन वडा कार्यालय नजिकै रहेको भए पनि वडाले पनि कुनै सक्रियता नदेखाएको स्थानीय बिमल श्रीषले बताए ।’
सरकारले धेरै लगानी गरेर स्वास्थ्य चौकीको भवनको निर्माण गरेको भए पनि जसरी भवन बन्नु पथ्र्याे त्यसरी भएन । ‘ईस्टीमेट’मा लेखिएको जस्तो काम भएको छैन,’श्रीष भन्छन,्‘हामीले वडादेखि पालिकासम्म सबैलाई जानकारी गराएका थियौँ । हालसम्म कसैले पनि दुई वर्षमै किन स्वास्थ्य चौकीको अवस्था यस्तो भयो भनेर न त कसैले छानबिन गरेको छ नत कसैले यसको बारेमा चासो नै देखाएको छ ।’
भवन निर्माण गर्दा कमसल सामग्रीहरुको प्रयोग गरिएको, ठेकेदार प्रतिनिधीले ‘इस्टिमेट’ अनुसार काम नगरेको, सरोकारवाला निकायले अनुगमन नै नगरी भवन पास गरिदिएपछि अहिले सो भवनबाट सेवा दिननै समस्या भएको स्वास्थ्य चौकीका कर्मचारीले बताएका छन् । वर्षातको समयमा छाता ओढेरै सेवा दिनुपर्ने बाध्यता बनेको छिस्ती स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश महतराले बताए ।
‘हामी कर्मचारी तथा स्थानियहरु सबैले भवनको बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराएका थियौँ, तर कसैले पनि अनुगमन गर्नुभएको छैन,’ ईन्चार्ज महतरा भन्छन् ‘हामीलाई पानी पर्यो भने त झन निकै समस्या छ, पानी चुहिन्छ, छाता ओढेरै सेवा दिन बाध्य भएका छौँ ।’ शौचालयको अवस्था झन् दर्दनाक भएको उनले बताए ।
भन्छन् ‘चौकीका सबै शौचालय अहिले बन्द छन्, दुर्गन्ध फैलिएर बसि सक्नु हँुदैन । स्वास्थ्यचौकी भित्र छिर्दा बित्तिकै मास्क अनुवार्य लगाउनु पर्दछ ।’ स्वास्थ्य चौकीका कर्मचारी राजु शर्माले स्तरहिन ढलानका कारण अहिले स्वास्थ्य चौकीबाट सेवा दिननै समस्या भएको बताए । शर्मा भन्छन् ‘ढलानको अवस्था पनि बेहालै छ, छत हेर्दा ढलान उक्किएको छ, केहि ठाउँमा ढलान उठेको छ ।’
वडा कार्यालय, नगरपालिका, लगायतका सरोकारवाला निकायमा जानकारी गराउँदा समेत सरोकारवाला निकाले कुनै वास्ता नगरेको स्थानिय तथा चौकीमा कार्यरत कर्मचारीको भनाई छ । ठेकेदार प्रतिनिधीलाई यसबारेमा जानकारी गराउँदा ठेकेदार प्रतिनिधी सन्तोष चोखालले धाकधम्की समेत दिएको स्वयमः जनप्रतिनिधी बताउँछन् । ठेकेदार कम्पनीका प्रतिनिधी सन्तोष चोखालले कसैले विरोध गरेमा धाक धम्की दिने गरेको छिस्तीका वडा सदस्य कर्ण सिंहले बताए ।
‘यहाँ कसैले काम राम्रो भएन भनेर भन्यो भने ठेकदारका प्रतिनिधी सन्तोष चोखालले धाकधम्की दिन्छन् । भवन निर्माण गर्दा धेरै लापरबाही गरे । एउटा सामान हाल्नुपर्ने ठाउँमा अर्को हालेको भएर यस्तो भएको होला ।’
दुई वर्षको समयमा आफुलाई कुनै पनि तरिकाले आधिकारिक जानकारी नआएको ठेकेदार प्रतिनिधी सन्तोष चोखालले बताएका छन् । आधिकारिक जानकारी आएमा आफुहरुले मर्मत गर्न तयार रहेको चोखालले बताए । मर्मत गर्नका लागि आफुलाई आधिकारिक पत्र पाउनुपर्ने चोखालको भनाई छ ।
‘हामीलाई आधिकारिक रुपमा कसैले पनि यस्तो समस्या भयो भनेर भनेको छैन,’ उनी भन्छन्,‘समस्या देखिएको जानकारी आधिकारिक रुपमा आए हामी समाधान गर्न तयार छौं ।’