बागलुङ- नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले मानवीय सेवामा रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । उनले विपद्, दुर्घटना तथा अन्य मानवीय संकटका बेला रेडक्रसले अग्रपङ्क्तिमा रहेर सेवा पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवामुखी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
ढकालले बागलुङ शाखाले सञ्चालन गरिरहेका पुराना एम्बुलेन्सको अवस्था सुधार वा आवश्यकता अनुसार नयाँ एम्बुलेन्स खरिदतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । एम्बुलेन्स सेवा सञ्चालन गर्दा स्थानीय अस्पताल तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा शाखाका मन्त्री भुवानीप्रसाद कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा, प्राथमिक उपचार, स्वास्थ्य सचेतना, उद्धार तथा राहत वितरण लगायतका क्षेत्रमा शाखाले वर्षभरि सञ्चालन गरेका गतिविधिबारे जानकारी गराए । कोषाध्यक्ष जीवननाथ आचार्यले आर्थिक वर्षको आय–व्यय विवरणसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले रेडक्रसले विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रेडक्रसका निवर्तमान सभापती जब्बर बहादुर लामिछाने, बेलबगर उपशाखाका सभापती लक्ष्मीकान्त पौडेल राजेन्द्र, प्रदेश समितिका पूर्व सदस्य हिमाल शर्मा, गलकोट नगरपालिकाका नगरसंयोजक रामबहादुर खत्री, लगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले प्राकृतिक विपद्, आगलागी, दुर्घटना तथा अन्य मानवीय संकटका बेला राहत, उद्धार र आपत्कालीन सेवाका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता उपसभापती सिता शर्माको स्वागत, राजेन्द्र आचार्यको धन्यबाद मन्तव्य तथा मन्त्री भुवानीप्रसाद कडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।