बागलुङ— जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध शक्तिपिठ बलेवा भैरवस्थान मन्दिरमा भजन चुड्का उत्सव सम्पन्न भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा उत्सव सम्पन्न भएको हो । उत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले भजन कृतन मार्फत पनि हाम्रा संस्कृति र सम्पदाको संरक्षण र प्रर्वद्धनका हुने बताए । उनले पछिल्लो समयमा बलेवा भैरवस्थान मन्दिरमा दर्शनार्थीको भिड बढ्दै गएको र यसको प्रचार प्रसारलाई अझै व्यापक बनाउनुपर्ने बताए । ‘भजन किर्तन हाम्रा संस्कृति हो हाम्रो सम्पदा हो यसको संरक्षणमा सवै जुट्नुपर्छ श्रेष्ठले भने,–‘पछिल्लो समयमा जिल्लामा विभिन्न समुह बनेर विभिन्न प्रतियोगिता पनि हुँदै आएका छन । यस्ता कार्यक्रममा संस्कृतिको संरक्षणका साथै प्रर्वद्धन पनि हुने भएको छ । ’ उनले भजन मार्फत भैरवस्थान मन्दिरको प्रचार प्रसारमा अझै टेवा पुग्ने विश्वास लिएको बताए ।
मन्दिरमा धार्मिक पर्यटकलाई थप आर्कषण गराउनका निम्ती यस्ता कार्यक्रमले थप टेवा पुग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको भनाई छ ।
भैरवस्थान मन्दिरमा हप्ताको मंगलबार र शनिबार विशेष पुजा हुने गरे पनि दैनिक सयौंको संख्यामा दर्शनार्थीहरु आउने गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको छ । नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गरेको अध्यक्ष ढकालले बताए । भजन उत्सवमा जिल्लाका विभिन्न क्षेत्रका भजन किर्तन टोली सहभागी भएको थियो ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, कोषाध्यक्ष डा. चन्द्रबहादुर खत्रीको स्वागत र लोक गायक कृष्ण अखेलीको संचालनमा सम्पन्न भएका थियो ।