बागलुङ- बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा बीच चुनावी गठबन्धन गर्ने सहमती भएको छ ।
नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले संयुक्त विज्ञप्ति अनुसार बागलुङ क्षेत्र नं १ मा जनमोर्चा र २ मा नेकपाले उम्मेदवारी दिने गरी निर्वाचन गठबन्धन भएको हो ।
‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी बिचमा चुनावी तालमेल गर्न हामी दुई दलले सहमति गर्दछौँ। उक्त सहमति अनुसार बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेपाली कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गर्ने तथा सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्ने सहमति गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पार्टीले गरेको निर्णय र सहमतिलाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ।’ बागलुङ १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे अनिल उम्मेदवार बनेका छन्। बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीको जन्मथलो हो भने यसअघिको चुनावमा उनले बागलुङको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए। उनी यसअघि सोही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्थे ।
राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ बाट अखिल (छैठौं)का पूर्वअध्यक्ष कृष्ण अधिकारीलाई उम्मेदवार घोषणा गरेको थियो भने क्षेत्र नम्बर २ मा उम्मेदवार खाली राखेको थियो । नेकपाले बागलुङ क्षेत्र नम्बर १ मा कृष्ण केसी र २ मा ज्ञाननाथ गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जनमोर्चासँगको सहमतिपछि अब कृष्ण केसीको सट्टा कृष्ण अधिकारी उम्मेदवार बन्नेछन् । बागलुङका नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा भने छुट्टाछुट्टै भिडने तयारी गरेको छ ।