बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण थालेको छ । अहिलेसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले प्रशासनिक कार्यका लागि आफ्नै भवन निर्माण थालेको हो । प्रशासनिक भवनको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेका छन् । जग्गा र भवन निर्माणका लागि स्रोत व्यवस्थापन गर्दा आफ्नो कार्यकाल सकिनै लाग्दा पौडेलले भवनको शिलान्यास गरेका हुन् । आफूले शिलान्यास गरेको भवन आउने जनप्रतिनिधिले पूरा गर्ने विश्वास व्यक्त गरे ।
‘हामीले भवनका लागि जग्गा व्यवस्थापन गर्ने र स्रोतको व्यवस्थापन गर्दा अहिलेसम्मको समय लाग्यो,’ उनले भने,‘आउँदो तीन वर्षमा भवन निर्माणका काम पूरा भई अब आउने जनप्रतिनिधिलाई प्रशासनिक सेवा सञ्चालनका लागि सहज हुनेछ भन्ने विश्वास लिएको छ ।’ कार्यक्रममा नगर प्रमुख पौडेल, उपप्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नगरपालिकाका कर्मचारी सहित वडाध्यक्ष लगायत स्थानीयको सहभागिता थियो । जैमिनी नगरपालिकाले आफ्नो प्रशासनिक भवन बनाउनको लागि ठेक्का सम्झौता गरिसकेको छ ।
बोलपत्र स्वीकृत भएको रविना, प्राकृतिक जुगल जेभीसँग आठ करोड १७ लाख ६५ हजार ८२ रुपैयाँ १८ पैसामा ठेक्का सम्झौता गरेको छ । २०८१ साल असार मसान्तसम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता गरिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए । करिव ३ वर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले ४ तलाको ४२ कोठे भवन निर्माण गर्नेछ । जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारको तल्लो भेग ठेउले खोला र टिमुर खोलाको दोभानमा आफ्नै प्रशासनिक भवन बनाउन लागेको छ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाहमा समेत सहज हुने इन्जिनियर सापकोटाको भनाइ छ ।