भिरबाट लडेर घाईते लिलबहादुरलाई बागलुङ समाज हङकङको सहयोग

  • साउन २५, २०८०

बागलुङ ।  बागलुङ नगरपालिका–११ रायडाँडाका लिलबहादुर केसीलाई  बागलुङ समाज हङकङले आर्थिक सहयोग गरेको छ । भिरबाट लडेर गम्भिर घाईते भएका केसीलाई हङकङमा बस्ने नेपाली दाजुभाई सँग रकम जुटाएर समाजले आर्थिक सहयोग पठाएको हो ।  घाईते भएका केसीलाई स्पाईनलकर्डमा समस्या भए पश्चात उपचार आर्थिक अभाव भएको थियो । केसीलाई समाजको तर्फबाट पठाएको ७२ हजार ६६० रुपैयाँ वडा अध्यक्ष ज्ञानेन्द्र गौतम मार्फत उनको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।  यो सँगै हङकङमा रहेका उनका आफन्त विष्णु थापा र इन्द्रबहादुर केसीको पहलमा थप ३४ हजार ६०० गरी कुल १ लाख ७ हजार २ सय ६० रुपैयाँ रकम सहयोग हस्तान्तरण गरिएको हो । ३६ बर्षिय केसी गत जेठमा घर नजिकैको भिरबाट लडेर  गम्भिर घाईते भएका थिए । 
आर्थिक अवस्था कमजोर भएका केसीलाई स्थानिय समाजसेवी मिनबहादुर केसी मिलनको पहलमा यस अघि पनि ३ लाख ७५ हजार २१० रुपैयाँ सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको थियो । परिवारको घरमुलीकै रुपमा रहेका केसी घाईते भए पश्चात अहिले परिवारको दैनिकी चलाउन पनि कठिनाई भएको छ  । शरिरको हात खुट्टा र अन्य भाग चल्न नसकेका पश्चात केसीको स्पाईनलकर्डको अपरेशन गरिएको थियो । पोखराको मनिपाल शिक्षण अस्पताल र गण्डकी स्वास्थ्य प्रतिष्ठानमा उपचार पश्चात पिडित केसीलाई अहिले घरमा ल्याईएको उनका आफन्त समेत रहेका मिलन केसीले बताए ।  उनको उपचारका लागि हाल सम्म आठ लाख बढि रकम खर्च भै सकेको परिवारले जनाएको छ । पिडित केसीको परिवारमा बाबा, आमा, एक श्रीमती एक छोरा र छोरी रहेका छन । 
 

प्रतिक्रिया