बागलुङ- चालु आर्थिक वर्षको अन्तिम साता जिल्ला स्थित विभिन्न कार्यालयमा यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारो छन । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । तर जिल्लामा रहेको स्वास्थ्य कार्यालयले भने आफ्ना गर्नुपर्ने सवै कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना बार्षिक कार्यक्रम सम्पन्न गरेर पत्रकार सम्मेलन मार्फत जानकारी समेत गराएको छ । कार्यालयले प्रदान गर्ने सेवा र कार्यसम्पादन गरेका कामको बारेमा जानकारी गराएको हो । आर्थिक वर्षको अन्त्यमा वर्ष भरी गरेको कार्यक्रमको बारेमा जानकारी दिने जिल्लामै यो पहिलो कार्यालय हो ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार यस वर्ष कार्यालयको प्रदेश समानिकरणको बजेटमा वित्तिय तर्फ ७३ प्रतिशत प्रगती गरेको छ भने भौतिक तर्फ ९८ प्रतिशत प्रगती गरेको छ । त्यस्तै संघको ससर्त तर्फ ६८ प्रतिशत वित्तिय प्रगती गरेको छ भने ८८ प्रतिशत भौतिक प्रगती गरेको छ ।
यस वर्ष कोरोना विरुद्धको खोप अभियान मुख्य उपलब्धीको रुपमा रहेको छ । जिल्लामा कुल जनसंख्याको ७२.१ प्रतिशतले पुर्ण खोप प्राप्त गरेका छन भने ७२.६ प्रतिशतले पहिलो डोजको मात्रामा खोप लगाएको कार्यालय प्रमुख गुरौले बताए । जिल्लामा बालबालिकाका लागि टाईफाईड विरुद्धको खोप अभियान पनि संचालन गरिएको थियो । जसमा ९७ प्रतिशत बालबालिकाले यो खोप प्राप्त गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले पोषण तर्फ समुदायस्तरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वय सेविकालाई स्तनपान र पुरक खाना समन्धि परामर्श र अभिमुखिकरण कार्यक्रम संचालन गरको छ । जसमा १०१ महिला स्वास्थ्य स्वयं सेविका र ३० जना स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो ।
कार्यालयले समुदायमा आधारित एकिकृत बालरोग व्यवस्थापन कार्यक्रम, रोग नियन्त्रण सम्बन्धी कार्यक्रम, हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउने कार्यक्रम पनि यस वर्षको उपलब्धीको रुपमा राखेको छ । जिल्लामा यस वर्ष पनि १३ औं पटक हात्तिपाईले रोग विरुद्धको आम औषधी खुवाउने कार्यक्रम संचालन गरिएको थियो । जसमा ८१ प्रतिशत लक्षित सर्वसाधारणले औषधी सेवन गरेको कार्यालय प्रमुख गुरौले जानकारी दिए ।
कार्यालयले आमा सुरक्षा र परिवार नियोजन तर्फ पनि विभिन्न कार्यक्रम तथा शिविर नै संचालन गरेको थियो । परिवार नियोजन तर्फ बन्ध्याकरण शिविर, सेटेलाईट क्याम्प संचालन गरेको थियो । जसमा ३४ र १५ जनाले सेवा प्राप्त गरेका थिए । कार्यालयले स्वास्थ्यकर्मीका लागि विभिन्न तालिक तथा गोष्ठी संचालन गर्नुका साथै क्षयरोग कृष्ठरोग, एचआईभि लगायतका रोगहरुका बारेमा पनि कार्यक्रम संचालन गरेको कार्यालयको क्षयकुष्ट निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । कार्यालयले विभिन्न दिवसहरु मनाउनुका साथै कोभिड १९ का कारणले मृत्य भएका व्यक्तिका ११४ परिवारलाई आर्थिक सहायता प्रदान र जिल्लाका सवै स्थानिय तहमा पुगेर १११ खानेपानीका मुहानमा कोलिफर्म परिक्षण गरेको थियो । जसमा ४९ वटा खानेपानीको मुहानामा कोलिर्फमको मात्रा देखिएको घिमिरले जानकारी दिए ।
आर्थिक वर्षमा आफ्नो कार्यालयले सम्पादन गरेको काम सार्वजनिक गरेर जिल्ला मै एउटा उदारणीय काम गरेको पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नबिन शिशिर विक बताउँछन । ‘आफ्नो बार्षिक कार्यक्रमको बारेमा बर्षको अन्यमा प्रगती विवरण जिल्लामा अन्य कार्यालयले गरेको पाईएको छैन । शिशिरले भने,–‘यो आम सर्वसाधारणको पनि चासोको विषय हो । स्वास्थ्य कार्यालयबाट अरुले पनि सिक्न जरुरी छ । सधै असारमा मात्र धेरै काम हुने तर कामको बारेमा कसैले पनि जानकारी गराउने गर्दैनन् । स्वास्थ्य कार्यालय जस्तो अन्य कार्यालयले पनि गरुन सिकुन ।’
उनले आगामी आर्थिक वर्षको सुरुवात मै जिल्लामा स्वास्थ्यका हरेक कार्यक्रममा भएको बार्षिक प्रगतीको बारेमा पनि यसै गरी सुसुचित गर्नका लागि कार्यालयलाई आग्रह गरेका थिए । कार्यालयले आफ्ना गतिविधि नियमित सार्वजनिक गर्ने बताएको छ
।