चैत्र २३ र २४ गते धौलागिरी अस्पतालमा नि: स्वास्थ्य शिविर हुने

  • चैत २१, २०८०

बागलुङ - बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा धौलागिरि अस्पताल बागलुङमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।  बागलुङ नगरपालिका सँगको समन्वयमा यही चैत्र २३ र २४ गते स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।  समाजले मेडिकल कलेज पोखरा, र धौलागिरि अस्पतालसँग चिकित्सकहरुको संमायोजन गरेको छ ।  बुधबार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि शिविरको बारेमा जानकारी गराइएको थियो । शिविरको बारेमा जानकारी दिदै बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने  बताए । 

विपन्न, असाहय बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, क्यान्सर, मुटुरोग, पिसाव रोग, लगायत विभिन्न रोगको निशुल्क उपचार गरिने बताए ।  दुई दिन सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा १५ जना विशेषज्ञ डाक्टरहरु बागलुङ आउने भएका छन् ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले शिविर सञ्चालन गर्न लागेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बताईन । 

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्न सक्ने श्रेष्ठको भनाई थियो । सो कार्यक्रमको संचालन समाजका सचिव किस्मत मणि श्रेष्ठले गरेका थिए । शिविरमा हाडर्जोनी विशेषज्ञ डा. रविन्द्र प्रसाद श्रेष्ठ मुटुरोग विषेशज्ञ डा मधु रोका लगायतका विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया