बागलुङमा १५औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ । विद्यालयस्तरमा पुस्तकालयको महत्व बढाउँदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित पुस्तकालय दिवस मनाउन लागिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
‘बाल, युवा र वृद्ध ः पुस्तकालय सधैँको गन्तव्य’ भन्ने मूल नाराका साथ विद्यामन्दिर पुस्ताकालय बागलुङको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत २०८३ भदौ ११ गते बाल विकास केन्द्रका बालबालिकाको स्वास्थ्य परीक्षणसँगै शैक्षिक सामग्री वितरण गरिनेछ । त्यसैगरी भदौ १४ गते पुस्ताकालय परिसर सरसफाइ कार्यक्रमसँगै प्रचारात्मक कार्यक्रम गरिने पुस्ताकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
भदौ १५ गते बिहान ‘चित्र लेखन प्रतियोगिता’ प्रतियोगिता सँगै मूल समारोह कार्यक्रम गरेर समापन गरिने छ । पुस्तकालय दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले बालबालिका तथा युवामा पुस्तक पढ्ने बानीको विकास गर्नुका साथै पुस्तकालयलाई ज्ञान र सिकाइको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलन कार्यक्रम सचिव गोकुल प्रसाद शर्मा कँडेलले गरेका थिए ।