बागलुङ - कुल दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध रहेका छन । स्वास्थ्य विमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार जिल्लामा हाल सम्म वर्ष १ लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य विमा गरेका छन । जसमा कुल ४६ हजार ४५४ घरपरिवार आवद्ध रहेको विमा बोर्ड सम्पर्क कार्यालय बागलुङका संयोजक नारायण प्रसाद पौडेलले जानकारी दिए । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष विमा गर्नेको संख्यामा भने ९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष ४९ प्रतिशत विमित थिए भने यस वर्ष ५८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य बीमामा आबद्ध भएपछि १ लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले स्वास्थ्य बीमा गराउनेको संख्या बढिरहेको छ, वर्षमा एक पटक प्रमियम तिरेपछि सुचिकृत भएका अस्पतालहरुबाट वर्षभरी उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेल बताउँछन ।
३० प्रतिशतले नविकरण गर्दैन
स्वास्थ्य विमामा आवद्ध हुनेको संख्या बढ्दै गएता पनि नविकरण नगर्नेपनि त्यतिकै रहेका छन । जिल्लाको कुल विमित सदस्य मध्ये ३० प्रतिशतले भने नविकरण गर्दैनन् । ‘हरेक वर्ष झण्डै ३० प्रतिशत नागरिकले नविकरण गर्दैनन, पौडेलले भने,–स्वास्थ्य संस्थाले दिने सेवा प्रति नागरिक सन्तुष्टी छैनन्, केही प्रक्रिया झण्झटीले मान्दै आएका छन, अस्पतालबाट सेवा लिएपश्चात तोकिएका औषधी पनि समयमा नपाउँदा विमित भएका सवै सदस्यले नविकरण गर्दैनन् ।
तोकिएका औषधी नपाएको विमितको गुनासो
स्वास्थ्य विमा गरेपनि तोकिएका औषधी नपाएको भने विमितको गुनासो रहेको छ । सरकारले १ हजार २८८ प्रकारका औषधी विमाबापत पाउने भनेपनि अस्पतालको फार्मेसीमा औषधी नभएपछि नविकरणका निम्ती चासो नहुने विमित सदस्य लक्ष्मी शर्मा बताउँछिन । ‘हामी नियमित खानुपर्ने औषधी विमाबाट नै पाउने सुविधा छ तर अस्पतालमा समयमा नै खरिद नहुँदा त्यो औषधी किन्नुपर्ने बाध्यता हुन्छ शर्माले भनिन्–‘विमा गर्दा अन्य सुविधा त सहज छ तर औषधी नपाउँदा किन गरिएछ जस्तो हुन्छ ।’ पछिल्लो समयमा विमा बोर्डले केही सर्तहरु परिवर्तन गरेपश्चात नविकरण गर्ने पनि घट्दै गएका छन । यस अघि ३ हजार ५०० रुपैयाँको विमा शुल्क तिरेपश्चात पाँच जनाको परिवारले १ लाख रुपैयाँ बराबरको सेवा सहजै प्राप्त गथ्यो भने हाल बहिरङ सेवामा २५ हजार सिमा तोकिएको छ । बाँकी इमेरजेन्सी र भर्ना बापत खर्चगर्न पाईने प्रावधार बनाईएको छ । साथै अन्य आठ प्रकारका कडा रोकका लागि थप रुप १ लाख रुपैयाँको व्यवस्था गरिएको छ । विमाबोर्डले सेवा लिएपछि विमितको मोबाइलमा म्यासेज आउने व्यवस्था समेत गरेको छ ।
७० प्रतिशत विरामी विमाबाट विमित
स्वास्थ्य विमा संचालन भएसँगै जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा भने झण्डै ७० प्रतिशत नागरिकले विमा मार्फत नै उपाचर गर्दै आएका छन । दैनिक झण्डै ४ सय देखी पाँच सय विरामी अस्पतालमा उपचार आउँछन ति मध्ये ७० प्रतिशत विमित सदस्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डण्ट प्रविण घिमिरेले जानकारी दिए ।
स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु धौलागिरी अस्पताल बागलुङ, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ अस्पतालबाट उपलब्ध छ । अहिले बडिगाड आधारभूत अस्पतालमा समेत प्रथम सेवा बिन्दु उपलब्ध भएको बोर्डका बागलुङका संयोजक पौडेलले जानकारी दिए ।
१० औं स्थापना दिवस मनाइयो
मंगलबार स्वास्थ्य विमाको १०औं स्थापना दिवसको अवसरमा धौलागिरी अस्पतालमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले स्वास्थ्य विमा कार्यक्रमले सवै वर्गको उपचारमा सहज भएको बताए । उनले पछिल्लो समय विमा बोर्डले गरेका केही निर्णय प्रति नागरिकको असन्तुष्टी देखिएता पनि बुझेको नागरिकले यसलाई नियमितता दिएको बताए । उनले बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम मार्फत नगरभित्रका दलित अल्पसंख्या र विपिन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा स्वास्थ्य विमा बोर्ड शाखा कार्यालय बागलुङका नारायण प्रसाद पौडेलले समग्र जिल्लाको स्थितीको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, दर्ता सहयोगी निर्मला शर्माको स्वागत र अस्पतालका प्रशासन शाखा प्रमुख तुलसीराम कंडेलको संचालनमा सम्पन्न भएको थियो ।