दब्ल्याङको पहिरोले अवरुद्ध सडक तिन महिना पछि सञ्चालनमा 

  • असोज ८, २०८२

बागलुङ - गत असारदेखि नै बन्द रहेको बागलुङ कुश्मिसेरा (एडिबी) सडक अन्तरगतको दब्ल्याङको पहिरोले अवरुद्ध सडक बुधबार दिउँसो देखी देखी संचालनमा आएको छ ।  बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने उक्त पहिरो मंगलबार देखी हटाउन सुरु गरिएपछि बुधबार दिउँसो मात्र संचालनमा आएको हो । 
तिन महिना देखी अवरुद्ध सडक दशैं नजिकिएसँगै पहिरो हटाएर सडक निर्माणको काम थालनी गरिएको  । पहिरोका कारण सडक अवरुद्ध हुँदा विशेष गरी बागलुङ नगरपालिका वडा नं. १० गलुवा क्षेत्र, वडा नं. १३ पैयुँपाटाको माथिल्लो भेग र वडा नं. १२ अमलाचौरका जनताले सास्ती खेप्नुपरेको थियो । २० मिनेटमा सदरमुकाम पुग्न सकिने पहिरोकै कारण एक घण्टाको बाटो भएर आउनुपर्ने बाध्यता थियो । सडक सुचारु भएसँगै त्यो बाध्यता हट्ने छ । 
पूर्वाधार विकास कार्यालय बागलुङले अघिल्लो साता नै पहिरोको अवस्था बुझेर यसलाई तत्काल सूचारुका लागि गण्डकी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयमा लागत ईष्टीमेण्ट सहित स्विकृतीका लागि पठाएको थियो । मन्त्रालयबाट स्विकृत हुन बाँकी भएता पनि दशैँ नजिकिँदै गएको र वर्तमान आवश्यकतालाई मध्यनजर गरी सडक सूचारुको काम अगाडी बढाईएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अनिल बर्देवाले जानकारी दिए ।
 ‘पहिरोमा पूनः नयाँ ट्याक नै खोल्नुपर्ने हुन्छ । कार्यालयमा पहिरो क्षेत्रका लागि नै भनेर कुनै रकम आएको छैन, आएको मर्मतको रकमले पनि पुग्दैन इन्जिनियर बर्देवाले भने,–‘थप रकमका लागि मन्त्रालयबाट नै स्विकृत गरेर काम अगाडी बढाउन खोजिएको हो चाडपर्व नजिकिँदै गएको हुँदा तत्कालको आवश्यकतालाई हरेर सडक संचालनका लागि  पहिरो क्षेत्रमा काम भै रहेको छ । पहिले सडक बनाऔं प्रदेशबाट स्विकृत पनि आउला अनि भुक्तानीको काम गर्ने योजना बनाएका छौं ।’ उनले पहिरो हटाउनका निम्ति बागलुङ नगरपालिकाको पनि प्राविधिक सहयोग भएको बताए । 
पहिरोमा मर्मतका लागि आवश्यक पर्ने रकम भौतिक पूर्वाधार मन्त्रालयबाट स्विकृतको प्रक्रियामा रहेको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । सुवेदीका अनुसार पहिरोको अवस्थाको बारेमा मन्त्री र सचिवसँग कुराकानी भएको र दशैँ तिहार नजिकिएका कारण तत्काल यस क्षेत्रमा काम गरेपछि भुक्तानीको प्रक्रिया अगाडी बढाईने छलफल भएको हो । 
सडक सूचारुका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सहित प्राविधिको टोली पहिरो गएको स्थानमा निरन्तर खटेका छन । ‘हामी नियमित फिल्डमा नै छौं, हाम्रो निरन्तर सहयोग भएको छ, उपप्रमुख खड्काले भने,–पहिरो भन्दा अगाडीका क्षेत्रमा पनि जहाँ सडक अवरुद्ध भएको छ त्यहाँ पहिरो हटाएर खाल्टाखुल्टी पुर्ने काम पनि भएको छ ।’ उनले पहिरो क्षेत्रको पानीलाई व्यवस्थापनका निम्ती नगरपालिकाले ह्यामपाईपको व्यवस्थापन गरेको बताए । 
दब्ल्याङ पहिरोमा हरेक वर्ष लाखौं रकम खर्च हुँदै आएको छ । यहाँ माथिबाट निरन्तर बग्ने पानीका कारण पहिरो प्रत्येक वर्ष बग्ने गरेको छ । पहिरोका कारण एडिबी सडक मात्र हैन कालिगण्डकी करिडोर पनि बारम्बार अवरुद्ध हुँदै आएको छ । 
विगत दुई तीन वर्षदेखि यो पहिरोमा १ करोड बढि रुपैयाँ खर्च भै सकेको उपप्रमुख खड्काले बताए । अघिल्लो साल मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले झण्डै ५० लाख रुपैयाँ खर्च गरेर पहिरो माथिको पानीलाई नजिकैको न्वारे खोलामा फाल्ने व्यवस्था र सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको थियो । तर सोही वर्ष नै सबै बगाएको छ । 
पहिरो व्यवस्थापनका निम्ती भुगर्वविदले अध्ययन गरेर प्रतिवेदन समेत आएको थियो । प्रतिवेदन अनुसारको रकम नहुँदा यसको नियन्त्रण र सडकको दीर्घकालिन व्यवस्थापनका निम्ती कठिनाई भएको छ । चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनकै लागि संघिय सरकारबाट ३ करोड रुपैयाँ विनीयोजन भएको छ । त्यो रकमले के गर्ने भन्ने अझै कुनै निर्णय भएको छैन । पहिरोका कारण सडक अवरुद्ध हुँदा यहाँबाट पैदल यात्रा ओहोर दोहोर गर्न समेत कठिनाई भएको थियो । 

प्रतिक्रिया