बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर–१ ले पचास लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्ने भएको छ । पार्टीको कार्यालय व्यवस्थापन र दक्ष कर्मचारी व्यवस्थापनका निम्ती क्षेत्रीय समितिले अक्षयकोषको स्थापना गर्न लागेको हो । क्षेत्रीय समितिलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनुका साथै सदस्यहरुको अभिलेखिकरण तथा अन्य व्यवस्थापनका निम्ती अक्षयकोषको स्थापन गरिएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिए । अभियान सुरु भएको एक महिनामा झण्डै २५ लाख रुपियाँ संकलन भएको पौडेलले बताए ।
‘पार्टीमा संगठन सुदृढिकरण, बैचारिक प्रशिक्षण, प्रसार प्रसार जस्ता काममा अक्षयकोषको ब्याज रकम खर्च हुनेछ सभापति पौडेलले भने,–‘आर्थिक व्यवस्थापन नहुँदा पार्टी गतिविधिमा समस्या परेको हुँदा काँग्रेसलाई माया गर्ने शुभेच्छुकसँग अक्षयकोषको लागि अपिल गरेका छौं हामीले अनिवार्य कसैलाई पनि भनेका छैनौ शुभेच्छुकहरुले स्वतस्फूर्त अभियानमा जोडिनुभएको छ ।’
कोष सञ्चालनमा आए पछि पार्टी कार्यालय सञ्चालन र अन्य नियमित पार्टी क्रियाकलप गर्न सजिलो हुने क्षेत्रीय सचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’ले जानकारी दिए । कोषमार्फत व्यवस्थित कार्यालय, दक्ष कर्मचारी, सदस्यको अभिलेखिकरण, सामाजिक सञ्जाल अपडेट, नियमित बुलेटीन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण, जनता र विकास जोड्ने अभियान सञ्चालन गर्ने उद्देश्य रहेको पौडेलले बताए । अक्षयकोषबाट आएको व्याज बापतको रकम बाट कार्यालय व्यवस्थापन तथा संगठनका निम्ती खर्च गर्ने क्षेत्रीय समितिले जनाएको छ । क्षेत्रीय समितिले बागलुङ बजारको लोकतान्त्रीक चोकमा भाडाको घरमा कार्यालय व्यवस्थापन गरेको छ । पार्टी कार्यालयको आउँदो आईतबार नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङले उदघाट्न गर्ने कार्यक्रम रहेको क्षेत्रीय सचिव पौडेलले बताए ।
काँंग्रेस बागलुङले पनि पार्टी कार्यालय भवन निर्माणको थालनी गरेको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिसकेको र केही दिनमा पार्टीको नाममा पास गर्ने जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । वि.पी. स्मृति भवन निर्माणको जग्गा खरिदका लागि अहिले विभिन्न व्यक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेको शर्माले बताए । विहिबार बागलुङका व्यवसायी कर्णबहादुर हमालले १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेका छन । हमालले पार्टीको भवन निर्माणका लागि जग्गा खरिदका लागि उक्त रकम सहयोग गरेकोको काँग्रेस बागलुङका सभापति जित शेरचनले बताए । हाल सम्म जग्गा व्यवस्थापनका निम्ती झण्डै ३१ लाख रुपैयाँ सहयोग संकलन भएको शेरचनले बताए । जिल्ला कार्यसमितिले पनि अहिले सम्म व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । बागलुङका कुनै पनि राजनीतिक दलको आफ्नै भवन छैनन् । सबै भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।