संविधानको रक्षाका निम्ती गठबन्धन आवश्यक : चित्रबहादुर केसी

  • कार्तिक १३, २०७९

बागलुङ-  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  मुलुकको संविधानको रक्षाका निम्ती अहिले गठबन्धन आवश्यक रहेको बताए । उनले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले स‌विधानमाथि ठाडो प्रहार गरेको हुँदा यसकाे निम्ती अहिलेको गठबन्धन भएको दाबी गरे ।

उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफुलाई हराउनका बाहिरी शक्ति लागको बताएका छन । 
आइतबार बागलुङ बजारमा आयोजित पाँच दलिय गठबन्धनका दलहरुको नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका हुन उनले  नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूप्रति हराउने खेल भएको र आफ्नो मुद्धामा सधै अडिक रहेका कारण आफु नहार्ने समेत दाबी गरे । 
केसीले लोकतन्त्रको रक्षाका निम्ती आफ्नो उम्मेदवारी चाहिएको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्नसक्ने समेत उनले टिप्पणी गरे ।

‘म बुढो सांसद हुने नहुने कुराले केही फरक पर्दैन, तर मलाई हराउन पाए संसद् र सिंहदरबारमा खुलेआम प्रवेश गरेर हिन्दुराष्ट्र भित्राउने खेल खेलौंला भन्नेहरु धेरै छन्, त्यसमा छिमेकी राष्ट्रका कूटनीतिज्ञ नै बढी सक्रिय छन् ।’ केसीले भने,

उनले सामन्त गोयल आएर तीन घण्टा वार्ता गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएको टिप्पणीसमेत गरे । गोयलको कुरा सुनेर ओलीले संसद् विघटन गर्ने निर्णयमा राष्ट्रपति सामेल बन्नु देशको दुर्भाग्य भएको भन्दै ओलीको आलोचना गरे ।
‘जब राजनीतिले धार्मिक रुप लिन्छ त्यसपछि राष्ट्र र राष्ट्रियता खतरामा पर्छ,’ केसीले भने, ‘एनजिओदेखि सहकारीसम्म संगठन पु¥याएर एमालेले हिन्दु धार्मिक देश बनाउन खोजेको छ ।’ त्यसका लागि छिमेकीले साथ दिएको उनले टिप्प्णी गरे । कोरोनाले देश अप्ठ्यारोमा पर्दा अक्सिजन किन्न छाडेर पशुपति मन्दिरमा जलहारी राखेको भन्दै केसीले ओलीको आलोचना गरे ।

केसीले गठबन्धन जीवन मरणको सवाल भएको भन्दै संसद्बाट हिटलर जन्मन नदिन जनतालाई आग्रह गरे । ओलीको पुर्नउदयले हिटलर जन्माउने भन्दै अधिनायकवादविरुद्ध फेरि लड्नुपर्ने बेला आएको उनले बताए । ‘२०१७ साल २०५९ को भन्दा खतरा अधिनायकवाद आउन सक्छ, त्यसैले गठबन्धनले जित्नुपर्छ,’ केसीले भने, ‘अवसर गुमाएपछि पछुताउनुभन्दा बेलैमा सोचेर मतदान गरौं ।’
आसन्न चुनावमा कुन दलले जित्ने हार्ने भन्दा पनि राष्ट्रियता जोगाउन यो अन्तिम लडाइँका लागि मतदान गर्ने अवसर भएको समेत उनले बताए । केसी बागलुङ क्षेत्र नं १ का उम्मेदवार हुन् । उनी कांग्रेस, माओवादी र नेकपा एसको समर्थनमा उम्मेदवार बनेका हुन् । केसीको नेकपा एमालेका डा.सूर्य पाठक सँग प्रतिस्र्धा हुनेछ । कार्यक्रममा क्षेत्र नं. १ प्रदेश सभा (१) का नेपाली काँग्रेसका उम्मेदवार दिपेन्द्रबहादुर थापाले संविधानको रक्षाका निम्ती गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए । उनले संविधानलाई लत्याउने दलको अब नेपालमा कुनै औचित्य नभएको समेत दाबी गरे । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, नेकपा एकिकृत समाजबादीका सचिव भरत पुरी लगायतले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका निम्ती सवै सक्रिय भएर लाग्नुपर्ने बताए । 
कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरपालिका सभापति उमाकान्त शर्मा ‘बाबु’को अध्यक्षता नेकपा माओबादी केन्द्र बागलुङ नगर संयोजक रतन मलेपतीको स्वागत र राष्ट्रिय जनमोर्चाका संयोजक थानेश्वर सुवेदीको संचालमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया