बागलुङ- जिल्लामा संचालन भएको संस्थागत विद्यालयहरुले आउँदो शैक्षिक सत्रदेखी लागु हुने गरी ४० प्रतिशत शुल्क बृद्धि गर्न माग गरेका छन । गत सोमबार बागलुङ नगरपालिका शुल्क सिफारिस समितिको बैठकले हाल उठाउँदै आएको शुल्कमा ४० प्रतिशत बढाउन नगरशिक्षा समितिलाई सिफारिस गरेको छ । प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको बताईएको छ ।
सिफारिस हुँदैमा निर्णय हुँदैन–नगरपालिका
नगरशिक्षा अधिकृत धनप्रसाद पोखरेलको उपस्थितिमा नै शुल्क बढाउने सिफारिस गरे पनि नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको पोखरेलले बताए । ‘प्याप्सल एनप्याब्सले एउटा प्रस्ताव ल्याएको हो । नगरशिक्षा अधिकृत पोखरेलले भने, –‘यसलाई हामी छलफलमा ल्याउँछौं । उनिहरुले अहिले उठाई राखेको शूल्कमा ४० प्रतिशतले बृद्धिको माग राखेका छन । तर त्यो हुँदैन । छलफलबाट मात्र बृद्धि हुने नहुने निर्णय हुन्छ । उनले संस्थागत विद्यालय संचालकहरुले ल्याएको निर्णय नै कार्यान्वयमा हुनुपर्छ भन्ने नरहेको र शुल्क बृद्धिका विषयमा कुनै निर्णय नभएको बताए । उक्त बैठकमा उपस्थित भएका अधिकाशं विद्यार्थी नेताले भने यो निर्णयप्रति असमत जनाएका छन ।
सुझाव समितिले निर्णय गरे पनि उक्त शुल्क लागू गर्नका लागि शिक्षा समितिले निर्णय गर्नुपर्ने पोखरेलले बताए । बैठक सहभागी नेपाल विद्यार्थी संघका सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियूका सदस्य कुमार सापकोटा र क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन काउचा समेतले यस शुल्क बढाउने विषय अहिले उठाउन नहुने बताएका थिए ।
बैठकमा सहभागी एक विद्यार्थी नेताले नगरपालिकाबाटै सहभागी कतिपयको आफ्नै बोर्डिङ भएकोले शुल्क बढाउन मौन सहमति दिएको टिप्पणी गरे ।
चार वर्ष पछि शुल्क बृद्धिको माग
प्याब्सन एनप्याब्सनले भने ४ वर्ष देखी कुनै पनि शुल्क नबढाईएकोले यो प्रस्ताव राखिएको जनाएको छ । ‘संस्थागत विद्यालयमा विगत चार वर्ष देखी कुनै पनि शुल्क बृद्धि गरिएको छैन अगामी २ वर्षका लागि यो प्रस्ताव गरिएको हो । प्याब्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठले भने,–‘कोभिडका कारण संस्थागत विद्यालय थला परेका छन । शिक्षकलाई धान्न कठिनाई छ । संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको न्युनतम मागको सम्बोधनका निम्ती पनि शुल्क बृद्धिको प्रस्ताव राखेका हौं । चार वर्षमा केही प्रतिशत त बृद्धि गर्नुनै प¥यो नत्र विद्यालय कसरी संचालन गर्ने । उनले केही व्यक्तिहरुको स्वार्थका कारण यो विषय बढि अतिरञ्जीत भएको बताए । श्रेष्ठले नगरपालिकामा शुल्क बृद्धिको प्रस्ताव राखिए पनि निर्णय भै नसकेको बताए ।
विद्यार्थी संघ संगठन शुल्क बृद्धिको विरोधमा
संस्थागत विद्यालयले शुल्क बढाउने माग गरेको भन्दै जिल्लामा क्रियाशिल विद्यार्थी संगठनले भने यसका विरोध गरेका छन । जिल्लामा क्रियाशिल नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौ, समाजबादी विद्यार्थी युनियन, अखिल क्रान्तीकारी नेविसंघ धौलागिरी बहुमुखी क्याम्पस इकाई र स्ववियु धौलागिरीले विज्ञप्ती जारी गरी यसको विरोध जनाएका छन । यस विषयमा भने नेकपा एमाले सबद्ध विद्यार्थीले सहमत मौन रहेको र सहमती जनाएको नेविसंघ बागलुङका अध्यक्ष खड्क थापाले जानकारी दिए । विद्यार्थी संगठनहरुले हाल कार्यान्वमा रहेको शुल्क बृद्धि गरेमा विद्यार्थीको हित विपरित हुने बताएका छन । उनिहरुले बागलुङ नगरशिक्षा समितिलाई आम नागरिकहरुलाई मर्का पर्ने गरी र संविधानमा उल्लेख भएको शिक्षा सम्बन्धी नागरिककको हकलाई बञ्जीत गर्न गरी कुनै शुल्क बृद्धि नगर्न तथा नगराउन ध्यानकर्षण गराएका छन । विद्यार्थी संगठनले एकलौटी रुपमा संस्थागत विद्यालयहरु र केही विद्यार्थी संगठनको प्रभावमा परी शुल्क बढाउने निर्णय प्रक्रिया अगाडी बढाएमा शशक्त आन्दोलन तथा प्रतिकार गर्ने जनाएका छन ।
तश्विर ः शुल्क बृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संघ संगठनका नेताहरु ः