थम्मन थापा/बागलुङ- गत शुक्रबार देखी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु संचालन भै रहेका छन । यसका साथै महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै गएको छ । पौष २६ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ । यसपाली महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत विशेष अफर सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समितीका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल मजुवाफाँट देखि गलकोटको आकाश, पर्यटकीय गन्तव्य घुम्टे र ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको अध्यक्ष पाण्डेले बताए । हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक हरि खत्रीले जानकारी दिए । महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत पश्चिम बागलुङका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने छ ।
जारी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा समेत गरिएको छ । हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च लाग्छ ? न्युनतम १० देखि १५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि प्रति व्यक्ति रु १० हजार शुल्क लाग्ने छ । हेलिकोप्टर मार्फत गलकोट घुम्न पाईनुका साथै घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ । गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु २५ हजार शुल्क निर्धारण गरिएको महोत्सवका कार्यक्रम संयोजक हुम थापाले जानकारी दिए ।
कहिले हुन्छ उडान ? हेलिकोप्टर पौष १९ गते उडान हुने छ । उक्त दिन देखि बुकिङ गर्ने दर्शकको चाप अनुसार उडानको समय निर्धारण हुनेछ । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा कैलाश हेलिकोप्टरले उडान भर्ने छ । त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको महोत्सव आयोजक समितीका उपाध्यक्ष मोहन केसी राजनले जानकारी दिए । महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको उपाध्यक्ष केसीले बताए । गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने यो सुनौलो अवसर भएकोले पनि यसलाई निकै आकर्षणको रुपमा हेरिएको छ । गलकोट नगरमा पर्यटन प्रवर्द्वन गर्नको निम्ती आयोजना गरिएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताईएको छ ।