दुई कार्यालय गाभिए पछि एकिकृत सेवा कार्यालय

  • मङ्सिर १७, २०८२

नारायण रिजाल बागलुङ,- गण्डकी प्रदेश सरकारको निर्णय बमोजिम जिल्लामा रहेका दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा संचालन गरिएको छ । प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङ गाभिए पश्चात एकिकृत सेवा कार्यालय बागलुङको रुपमा संचालन गरिएको छ । एकिकृत विकास कार्यालय साविकको उद्योग पर्यटन कार्यालयबाट संचालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिए । कार्यालयको बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गरेका छन । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नविकरणको सिफारिस प्रदान गरेर सेवा सुचारु गरेका हुन । 
गुरुङले एकै प्रकृतिका सेवाहरु प्रदान गर्नका निम्ती एकिकृत सेवा कार्यालयबाट सहज र सरल हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले मितव्ययीता कायम  र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालयहरु गाभेर एकिकृत गरेको बताए । गुरुङले कार्यालय संचालन लगायतका खर्च व्यवस्थापनमा पनि प्रदेश सरकारलाई केही राहत हुने बताए । ‘बागलुङ जिल्ला भुगोलले पनि ठुलो छ । योजनाहरु पनि धेरै छन  गुरुङले भने,–‘एकिकृत सेवा कार्यालय मार्फत दुवै कार्यालयका सेवा प्रदान गर्नुपर्ने छ । सेवा प्रवाहलाई अझै नयाँ ढंगले सुदृढिकरण गरेर अगाडी बढाउन आवश्यक छ । केही समय सेवाग्राहीलाई कठिनाई भएता पनि भोलिका दिनमा सहज हुने छ,  आवश्यक समन्वय गरेर अगाडी बढौ ।’ 
एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नविकरण, तालिम संचालन पर्यटकिय क्षेत्रमा पुर्वाधार निर्माण लगायतका कार्य गर्ने छ भने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम संचालन र विद्यालय मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माण लगायतका काम हुनेछन । हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य काम काज संचालन गरिएता पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा संचालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए । 
कार्यालय एउटै भएता पनि प्रदेश मन्त्रालय भने दुई वटा रहेका छन ।  प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ । गत साउनमा प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो । निर्णयको बेला बागलुङबाट उद्योग पर्यटन कार्यालय खारेज भएको थियो ।  जिल्लाबाट विभिन्न दबाव सिर्जना भए पश्चात राजपत्रमा पुन दुई कार्यालयलाई गाभेर एकिकृत सेवा कार्यालय संचालन गर्ने निर्णय भएर आएपछि यो कार्यान्वयनको चरणमा रहेको हो । कार्यालय शुभारम्भ कार्यक्रममा नवआगन्तुक कार्यालय प्रमुख शिव शर्मालाई स्वागत समेत गरिएको छ । कार्यालय प्रमुख पारसिंह थापाको अध्यक्षता र सहायक प्रशासकिय अधिकृत विष्णुनाथ शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया