बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । केही दिन पहिले देखी चर्किएको यस क्षेत्रको जमिन बुधबार विहान परेको पानी सँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका छन । पहिरोले बस्ती भित्रका ५ घर परिवारलाई पुर्ण रुपमा विस्थापित बनाएको छ भने, अन्य १० घर जोखिममा रहेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
पहिरोका कारण यस क्षेत्रका खानेपानीका पाईप पुर्ण रुपमा बगाउनुका साथै विजुली पोलहरु समेत ढलेका छन । सुरुमा चर्किएको माथिको ठुलो पहाड खसेपछि तल्लो भागले उक्त पहाड धान्न नसकेपछि बस्ती बस्तीमा क्षती बनाएको हो । पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ ।
पहिरोले स्थानिय ढालनाथ शर्मा, कुलराज शर्मा, बीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर गोठ उच्च जोखिममा पारेको छ । उनिहरुको घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात र गाईबस्तुलाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष गौतमले जानकारी दिए ।
पहिराले स्थानिय युवाहरु मिलेर संचालन गरेको धौलागिरी रामतोला कृषि फर्मको कुखुराको फार्म बगाएको छ भने भने स्थानियले लगाएका झण्डै ५ सय सुन्तलाका विरुवा पुर्ण रुपमा नष्ट भएको स्थानिय विष्णु पौडेल ‘दाह्री’ले जानकारी दिए । यस क्षेत्रमा जमिन चिरा चिरा परेको र झन जोखिम बढ्दै जाने सम्भावना रहेको पौडेलले बताए ।
माथिबाट बग्दै गएको पहिरोले यसै क्षेत्रको तमाखुबारी भन्ने बस्ती र जैमिनी नगरपालिका–१ ओडार भन्ने स्थानको बस्ती पनि जोखिममा परेको वडा अध्यक्ष गौतमले बताए । ‘पानी नपर्दा पनि बुरुलबुरुल नियमित बगिरहेको छ । माथिबाट तल झनै ठुलो रुपम लिएको छ । वडा अध्यक्ष गौतमले भने,–‘अहिलेको परिस्थितिमा हेर्दा यस क्षेत्रका सवै बस्तीहरु जोखिममा छन, धेरै घरहरु विस्थापित हुने हुन की भन्ने डर छ । पहिरो रोक्ने अहिले कुनै उपाय छैन । यहाँ बसोबास गर्ने स्थानियलाई अन्यत्र स्थान्तरण गर्न लागेका छौं । केही सरी सक्नु भयो केही सुरक्षित स्थानको खोजीमा हुनुहुन्छ ।’ पहिरोका कारण यति नै क्षती भएको भन्ने एकिन हुन सकेको छैन ।
पहिरोले बस्ती नै जोखिम भए पश्चात जिल्ला दैविक प्रकोप समितिलाई जानकारी गराईएको वडा अध्यक्ष गौतमले बताए । तत्कालका लागि खानेपानीको व्यवस्थापनका निम्ती आवश्यक पाईप र विजुली बत्तीका निम्ती पोल र आवश्यक तार पठाईएको र अहिले त्यो व्यवस्थापन भै रहेको उनले बताए ।
पहिरो निरन्तर बग्ने क्रम जारी रहेका कारण बागलुङ नगरपालिका कार्यालयले पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्नका निम्ती आग्रह गरेको छ । नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पहिरोका कारणले हुने क्षती कम गर्न तथा पिडितलाई सुरक्षित स्थानमा सार्नका लागि प्रयास भै रहेको र यहाँका पिडित परिवारका लागि आबस्यक सबै सहयोग नगरपालिकाले गर्ने जनाएका छन ।
पहिलो चरणमा सुरक्षित स्थानको खोजी गरि अस्थायी रुपमा बासोबास गर्न स्थानियलाई आग्रह गरिएको र भोलीका दिनमा यस क्षेत्रमा के गर्न सकिन्छ त्यसको बारेमा छलफल गरेर अगाडी बढने नगरपालिकाले बताएको छ ।