प्रशासनको आदेश उल्लंघन गर्दै निसीखोलामा मेला संचालन

  • माघ ९, २०७८

राजन रेग्मी- जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै जिल्लाको निशीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा मेला संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २८ गते एक सूचना जारी गर्दै पौष २९ गते राती १२ बजेबाट अर्को सूचना जारी नहुन्जेलको लागी कुनै  पनि समारोहमा २५ जना भन्दा बढि जम्मा नहुन लगायतका १६ बुदेँ आदेश जारी गरेको थियो । बुँदा नं. ९ मा लेखिएको छ ‘संस्कृतिक तथा धार्मिक चाडपर्वहरु भिडभाड नगरी आफ्नै घरमा मात्र मनाउने, बैबाहिक तथा संस्कारजन्य कार्यक्रम घरबाट मात्रै संचालन गर्ने, पार्टी प्यालेस तथा होटलहरुबाट संचालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्ने गरी बडिमा २५ जना भन्दा बढि व्यक्ति सहभागी नहुने गरी संचालन गर्नुपर्नेछ ।’  तर, भल्कोटमा भने माघ तीन गते देखि स्थानिय तिलाचन युवा क्लब भल्कोटको आयोजनामा ‘ऐतिहासिँक पुतली नाँच तथा माघे संक्रान्ति मेला–२०७८’ मा सयौको संख्यामा सहभागी भएर मेला मनाएका छन ।   ‘निसी भल्कोटको पहिचान, कला संस्कृति, व्यापार जडिबुटी, पर्यटन प्रवद्धन’ भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको हो । मेलामा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, समूह सालैजो कौडा नृत्य लगायतका करिब एक दर्जक कार्यक्रम संचालन भएको तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए ।

निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य बहादुर घर्तीले परम्परागत मेला भएको कारण स्थानिय युवाहरुले मेला आयोजना गरेको बताए । ‘परम्परागत मेला भएकाले केटाहरुले मेलाको आयोजना गरेका हुन । अब केटाहरु मेला भनेपनि दोहोरी गीत गाउछन्, भलिबल खेल्छन् ।’ उनले सामाजिक दुरी कायम गरि मेला आयोजना भएको बताए । तर, सामाजिक संजालमा देखिएका तस्विरमा भने सामाजिक दुरी कायम गरिएको देखिएको छैन । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्यले साङ्केतिक रुपमा पुतली नाँचको लागी मात्र अनुमति दिईएको भएपनि मेला गर्न अनुमति नदिएको बताए । उनले भने ‘म अहिले बिदामा छु, निमित्तसंग बुझ्दा साङ्केतिक रुपमा पुतली नाँचको अनुमति दिइएको रहेछ, तर मेला गर्न भने अनुमति दिइएको होईन ।’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश प्रसाद पौडेलले यस बारेमा बुझेर मेला रोक्न लगाउने बताए । हाल निसीखोलाका गाउँपालिकाका कुनै पनि वडामा कोरोना संक्रमित रहेका छैनन् । अब कोरोना परिक्षण गर्दा ठूलो संख्यामा कोरोना पुष्टि हुने सक्ने गाउँपालिकाका एक कर्मचारीले बताए । उनले भने ‘बागलुङमा मात्र नभई देशमै ठूलो संख्यामा दैनिक कोरोना पुष्टि भैरहेको छ । सवारी साधनमा पनि यात्रु भरिभराउ देखिन्छन् । जाँच गर्ने हो भने त ठूलो संख्यामा कोरोना पुष्टि हुने देखिएको छ ।’ कर्मचारी भन्छ्न् ‘बागलुङबाट आउने सवारी साधन प्याक भएर आउछन्, कुनै मापदण्डनै पालना भएको छैन । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका बिरामी पनि देखिएका छन् तर, कोरोना परिक्षण मान्दैनन् ।’
ढोरपाटनमा चार संक्रमित तर जिल्लाको तथ्याङ्कमा भने शून्य 
ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजन घनश्याम शर्मा चालिसेका अनुसार हाल सम्म नगरपालिका भित्र सक्रिय संक्रमितको संख्या चार रहेको पुष्टि भएको छ । नगरपालिका भित्रका तीन बैँकर्स र एक स्वास्थ्यकर्मीमा केहि दिन अगाडीनै कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । तर, स्वास्थ्य कार्यालय बागलुङको तथ्याङमा भने शून्य रहेको छ । स्थानिय एक व्यापारीले कोरोना भाईरसको तथ्याङ्क लुकाउनका लागी जिल्लामा रिपोर्टिङ नगरेको हुन सक्ने  बताए ।  यसरी पालिकाको संक्रमितको संख्या बढ्दै जाँदा पनि तथ्याङ लुकाउदा थप जोखिम बढ्दै जाने उनले बताए । स्वास्थ्य कार्यालय बागलुङले रिर्पोटिङ गर्नको लागी परिपत्र गरेको भएपनि ढोरपाटन नगरपालिकाले रिर्पोटिङ नगरेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । 
जिल्लाका दश वडा कोरोनाको उच्च जोखिममा 
बागलुङका दश वडा तेस्रो लहरको कोरोना भाईरसको उच्च जोखिममा रहेको छन् । कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलिदा बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, बरेङ गाउँपालिका , तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका कुल दश वडा उच्च जोखिममा परेका हुन । जसमा सबैभन्दा धेरै बागलुङका नगरपालिकाका छ वडा रहेका छन् । बागलुङ नगरपालिकाको वडा नम्बर एक, दुई, तीन, चार, पाँच र १३ कोरोना भाईरसको उच्च जोखिमको सूचिमा परेको हुन । त्यस्तै, गल्कोट नगरपालिकाको वडा नम्बर तीन, बरेङ गाउँपालिकाको वडा नम्बर दुई, तमानखोला गाउँपालिकाको  वडा नम्बर तीन र बडिगाड गाउँपालिकाको वडा नम्बर दुई तेस्रो भेरियन्टको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेले जानकारी दिए । 
४० वडा मध्यम जोखिममा
जिल्लाका ४० वडा कोरोना भाईरसको मध्यम जोखिममा रहेका छन् । बागलुङ नगरपालिकाका सात वडा, गल्कोट नगरपालिकाका नौ वडा, बरेङ गाउँपालिकाका चार वडा कोरोना भाईरसको मध्यम जोखिममा रहेको हुन । त्यस्तै, जैमिनी नगरपालिकाका पाँच वडा, काठेखोला गाउँपालिकाको पाँच वडा, तमानखोला गाउँपालिकाका चार वडा, ताराखोला गाउँपालिकाका चार वडा र बडिगाड गाउँपालिकाको दुई वडा गरि ४० वडा कोरोना भाईरसको मध्यम जोखिममा परेका हुन ।

    

प्रतिक्रिया