जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

  • ब‌ैशाख १४, २०७९

काठमाडौं - सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।

२०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

आयोगकै सिफारिसअनुसार २०५६ सालमा काठमाडौँ उपत्यकाबाट सातामा २ दिन बिदा दिने चलन पुनः सुरु गरिए पनि त्यो पनि असफल भयो । पटक पटक कुरा उठ्ने र कार्यान्वयन गर्ने प्रयाससमेत भए पनि पूर्ण तयारीका साथ नआउँदा पुरानै अवस्थामा फर्किनुपर्ने अवस्था एक वर्ष अघि अर्थात् २०७७ मङ्सिरमा पनि उठेको थियो ।

प्रतिक्रिया