धवलागिरी क्याम्पसमा स्ववियु निर्वाचन चैत्र १८ गते हुने, मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिने

  • चैत ६, २०७९

बागलुङ- धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्ववियु निर्वाचनको मिति चैत्र १८ गतेका लागि तोकिएको छ । क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनहरुको सोमबार बसेको बैठकले चैत्र १८ गते निर्वाचन गर्ने र मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले बताए । उपाध्यायका अनुसार ६ वटा विद्यार्थी संगठनको सहमतिमा उक्त निर्णय भएका हो भने ४ वटा विद्यार्थी संगठन बैठकको निर्णय नहुँदै बाहिरिएका छन ।
 ‘त्रिवीले चैत्र ५ गतेका लागि निर्वाचनको मिति तोकेको थियो । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विभिन्न ४ विद्यार्थीले स्ववियु निर्वाचन कार्यालयमा तालबन्दी गरेका कारण त्यो समयमा निर्वाचन गर्न सकेनौं क्याम्पस प्रमुख उपाध्यायले भने, सोमबार सवै विद्यार्थी संगठनलाई बैठकमा बोलाएर छलफल गरियो । सोही अनुसार १८ गते नै निर्वाचन गर्ने गरी मिति तय गरेका छौं ।  उपाध्यायका अनुसार सुरुवात देखी नै आन्दोलनरत ४ विद्यार्थी संगठनको समुह भने बैठक समय पुरै नबसेका कारण निर्वाचन सम्बन्धीे निर्णय ६ वटा विद्यार्थी संगठनको उपस्थितिमा मात्र भएको छ । उनिहरु विच निर्वाचन कार्यतालिका बनाउने विषयमा सहमती भएको हो । बाँकी ४ वटा विद्यार्थीका मागलाई पनि क्याम्पस प्रशासनले सम्बोधन गरी सवैको सहमतिमा निर्वाचन हुने उपाध्यायको भनाई छ । त्रिवीले निर्वाचन हुन नसकेका क्याम्पसमा चैत्र १२ गते निर्वाचन गर्ने भनेर निर्देशन गरेको थियो । क्याम्पस प्रमख उपाध्यायले भने,–‘त्यो समयमा परिक्षा भएका कारण हामीले १८ गते निर्वाचन गर्ने गरी निर्णय गरेका छौं । तोकिएको समयमा निर्वाचन हुन्छ । केही विद्यार्थी संगठनका असन्तुष्टीहरु छन संस्थागत हिसाबले समेटछौं । निर्वाचन गराएरै छाड्छौं ।’ 
बैठकको निर्णय नहुँदै निस्कीएका अखिल क्रान्तिकारीका गण्डकी प्रदेश उपाध्यक्ष जिवन शर्माले क्याम्पसमा यस अघि अनेरास्ववियु अखिल क्रान्तिकारी लगायतले उठाएका माग सम्बोधन नभएपछि आफुहरु बैठकबाट बाहिरएको बताए । उनले आफुहरु बैठकमा नहुँदा भएको निर्णय मान्य नहुने बताए । बैठकमा विप्लब समुहको विद्यार्थी संगठनको भने सहभागिता  नरहेको बताईएको छ । 
बैठकमा छलफल हुँदा केही विषयमा असमती भए पछि तिन विद्यार्थी संगठनका प्रतिनिधि बैठकबाट बाहिरएपछि क्याम्पसमा अध्ययनरत स्वतन्त्र विद्यार्थीहरुको समुहले बैठकमा सहभागी क्याम्पस प्रमुख उपाध्याय सहित सहायक क्याम्पस प्रमुख हरि पाण्डे र हिरालाल रेग्मी, स्ववियु उपसभापति बालकृष्ण शर्मा र अन्य ६ विद्यार्थी समुहका संयोजकलाई बैठक कक्षमै तालबन्दी गरेका थिए । उनिहरुले तत्काल निर्वाचनको मिति तोक्नुपर्ने माग गर्दै बैठक कक्षमा तालाबन्दी गरेका हुन । उनिहरुले सधै निर्वाचनलाई अनिर्णयको बन्दी गराएको र विद्यार्थीको अधिकार कुनै विद्यार्थी संगठनको नाममा कुण्ठित गरिएको भन्दै बैठक कक्षमै तालाबन्दी गरेको बताएका छन ।  अन्तत १८ गते नै निर्वाचन हुने र विहिबार निर्वाचनका कार्यक्रम सार्वजनिक गर्ने सहमति पश्चात ताला खुलेका छ । 
आन्दोलनरत विद्यार्थीले निर्वाचन सम्बन्धी गरेको  निर्णय आफुहरुलाई मान्यता नहुने भन्दै विज्ञप्ती सार्वजनिक गरेका छन । अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका विकास कंडेल अखिल क्रान्तिकारी विप्लबका सुधन विक अखिल क्रान्तिकारी बहुमतका दिवस खड्का र अखिल संयुक्तका प्रविण सापकोटाको संयुक्त विज्ञप्ती मार्फत क्याम्पस प्रशासनलाई बन्दी बनाई गराएको निर्णय मान्यता नहुने बताएका छन । 

प्रतिक्रिया