• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

असार २४ देखी ताराखोलामा ‘असारे मेला’ 

  • असार १४, २०८१

बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकामा प्रसिद्ध परम्परागत रुपमा मनाउँदै आएको असारे मेला यसवर्ष पनि मनाईने भएको छ ।  वर्षौदेखि जनजाति समुदायको अगुवाइमा मनाइँदै आएको मेला असारे युवा क्लबले विविध कार्यक्रम सहित मनाउदै आएको असारे युवा क्लवका अध्यक्ष ओम वहादुर रोका मगरले बताए । 
विशेष गरी मगर समुदायका बासिन्दाले खेतबारीमा अन्नपात रोपिसकेपछि असारे बस्ने चलन रहेकोमा पछि आएर मेलामा परिणत भएको रोकाको भनाई छ । यस मेलामा बुढापाकाहरूले अन्नबाली राम्रो उब्जाउ होस् भनी असारे पूजा गर्ने र मेला बस्ने प्रचलन रहिआएको छ ।

बिशेष गरि परम्परागत रुपमा जनजातिहरुले मनाउँदै आएको असारे मेला पछिल्लो समय ताराखोलाकै साझा पर्वको रुपमा सबै जातजातिहरुले सामुहिक रुपमा मनाउने गरेको स्थानीयको भनाई छ ।
प्रत्येक बर्ष असार महिनाको तेस्रो अथवा चौथो सोमबार र मंगलबार पुजा गरेर मेला मनाउने प्रचलन रहेकोले यस वर्ष पनि आगामि २४ गतेदेखि मेला सञ्चालन गरिने असारे युवा क्लवका उपाध्यक्ष नारायण घर्ती मगरले जानकारी दिए । 

अविवाहित तन्नेरीहरुले लिङ्गे पिङ थाप्ने र अविवाहित युवतीहरुले खाजा लिएर जाने चलन रहेको मगर समाज भैलो टोलिका संयोजक झक बहादुर घर्तीले बताए । पुजा गरेपछि २ दिन सम्म बाली नालि नष्ट नहोस भनेर खेत बारीमा काम नगर्ने जसलाइ कनट बस्ने पनि भनिन्छ । उहाँले फुर्सदको समयमा सबै मिलेर रमाइलो गर्न असारे मेला को सुरुवात भएको बताए । 

भौगोलिक तथा जातिय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता भन्ने मुल नाराका साथ असारे युवा क्लवले आफ्नो १४ औँ वार्षिकोत्सव समेत भव्यताका साथ मनाईने असारे युवा क्लवका सचिव लक्ष्मण रोका मगरले बताए । 

मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, खुल्ला वडा स्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, खुल्ला वडा स्तरीय धनुषवाण प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, भाले छुने प्रतियोगिता, स्लो बाईक रेश प्रतियोगिता, महिला रस्साकस्सि प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको खेलकुद संयोजक याम वहादुर घर्ती मगरले बताए ।  

असारे मेलामा पूजाआजा गर्ने, जनजाति समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, एकआपसमा शुभकामना साट्ने, ताराखोला भेगमा प्रचलित सालैजो, यानिमाया, चुट्का लगायतका स्थानीय मौलिक कला, संस्कृति झल्कने खालका झाँकी तथा गीत र नृत्य पनि प्रदर्शन गरिने जनाईएको छ ।
 

प्रतिक्रिया