बागलुङ - विगत एक महिना देखी पहिरोले अवरुद्ध भएको बागलुङ मालढुंगा– कुश्मिसेरा (एडिबि) सडक खण्ड विहिबार देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङ गएको ठुलो पहिरोले रोकिएको सडकमा एकतर्फि रुपमा यातायात संचालन भएको छन ।
जिल्लाको दक्षिण जोड्ने पहिलो सडकको रुपमा रहेको यस सडकमा विगत १ महिना देखी सवारी साधन संचालन हुन सकेका थिएनन् । विगत तिन वर्ष देखी वर्षा याममा सधै दुःख दिने यस सडक यस वर्ष पनि रोकिएको थियो । बागलुङ नगरपालिका–१२ का भिमबहादुर पाठक ‘रामु’, र ज्ञानेन्द्र ढकालको नेतृत्वमा बानपा १ का यादव शर्मा र बलेवा क्षेत्रका स्थानियको सहयोगमा उक्त सडक सूचारु गरिएको सडक सुचारुको नेतृत्व लिएका भिमबहादुर पाठक बताए । गत असारबाट बारम्बार अवरोध हुँदै आएको सडक साउनको पहिलो साता देखी पुर्ण रुपमा ठप्प थियो । एउटै पहिरोले तिन ठाउँमा अवरोध पर्दा सडक संचालनका निम्ती निकै कठिनाई पनि रहेको थियो । रोकिएको सडक वर्षा कम भए सँगै पुन सूचारु गरिएको हो । सडक सुचारु गर्नका निम्ती बागलुङ नगरपालिकालाई आग्रह गरिएता पनि नगरपालिको खासै चासो नदेखाएको कारण आफुहरुले नेतृत्व गरेर सडक सूचारु गरेको पाठकले बताए । करिब ८ घण्टामा झण्डै ३० हजार रुपैयाँ खर्च गरेर सडक सुचारु गरिएको पाठकको भनाई छ ।
वर्षा रोकिई नसकेको,पानी पर्दा साथ पुन पहिरो झर्ने सम्भावना भएको हुँदा नगरपालिकाले पहिरो हटाउने प्रयास गरेको थिएन । केही दिन यता नियमित वर्षा नभए पछि शुक्रबार बागलुङ नगरपालिका कार्यालयको जेसिबी पहिरो हटाउन जाने तयारीमा रहेको तर यस अघि नै सडक सुचारु भएको जानकारीमा आएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
यो सडक अवरुद्ध भए सँगै बागलुङको दक्षिण भेगका जनताले सास्ती खेप्नु परेको थियो । कालिगण्डकी करिडोर सडक खण्ड बैकल्पिक मार्गको रुपमा रहेता पनि पुरै हिलाम्य रहेका कारण कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक सूचार भए सँगै जिल्लाको दक्षिण जैमिनी, बरेङ बलेवा क्षेत्र र भकुण्डेका सर्वसाधारणलाई राहत भएको छ ।