बागलुङमा २१ औं धान दिवस मनाईयो, किसानलाई सम्मान

  • असार १६, २०८१

बागलुङ- २१औं  राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बागलुङ नगरपालिका—४ कुँडुलेमा र बागलुङ नगरपालिकाको आयोजनामा वडा नं.—७ मुलपानीमा धान दिवस मनाईएको हो । ‘जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ आयोजना कार्यक्रममा उत्कृष्ट किसानलाई सम्मान गरिएको छ भने परम्परागत खेतीलाई अगाल्नका निम्ती हलगोरुकै प्रयोग गरी धान दिवस मनाईएको छ । 
कृषि ज्ञान केन्द्रको आयोजना र जिल्ला कृषि सहकारी संघ बागलुङको संयोजनमा कुँडुलेमा भएको कार्यक्रममा जिल्लाका चार उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 
जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई दश÷दश हजार नगद सहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । 
सुन्तला जातको फलफूल खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्त बहादुर खड्का, तरकारी खेती तर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदम बहादुर खत्री, स्याउ र आलु खेती तर्फ ढोरपाटन–९ स्थित उत्तरगंगा अर्गानिक एग्रोका चिरन कुमार घर्ती र  बागलुङ  नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्ण प्रसाद लाछिानेलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नका लागि नगद सहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । 
कृषि पेशा तर्फ छाएको निरासालाई चिर्दै कृषकको उर्जा थप्ने काम ज्ञान केन्द्रले गरेका ज्ञान केन्द्रले बताएका छ । सुन्तला खेतीबाट एक वर्षमा पाँच लाख भन्दा बढि आम्दानी गर्दै आएका पुरस्कृत किसान अनन्त बहादुर खड्काले उचित मूल्य र बजार व्यवस्थापनमा अझै समस्या रहेको बताए । उनले ज्ञान केन्द्रले प्रदान गरेको पुरस्कारले किसानलाई थप हौसला बढेको बताए । 


कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका  प्रमुख अमर बहादुर थापाले कृषकको पीर मर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको औलाए । उनले पछिल्लो समयमा किसानहरु खेतीपाती प्रति आर्कषण घट्दै गएका कारण परनिर्भर बन्नुपर्ने अवस्था आएको बताए । 
थापाले  असली किसानलाई प्रोत्साहन गर्न सकेमा कृषि पेशा आकर्षणको पेसा बन्न सक्ने बताए ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल, राष्ट्रिय सहकारी महासंघ बागलुङका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी ‘अन्जु’ लगायतले कृषिमा आर्कषण गर्नका लागि राज्यले सोही अनुसारको निति ल्याउनुपर्ने बताएका थिए । 
कार्यक्रम जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, जिल्ला सहकारी संघ बागलुङका सञ्चालक जगन्नाथ आचार्यको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा हिले दौड समेत राखिएको थियो । 
बानपाले धान दिवस मुलपानीमा मनायो 
धान दिवसकै अवसरमा बागलुङ नगरपालिकाको आयोजनामा वडा नं. ७ को मुलपानीमा दिवस मनाईएको छ । नगरपालिकाको आयोजना नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र स्थानिय मुलपानी कृषि तथा पशुपंछी  सहकारीको संयोजनमा दिवस मनाईएको हो । 
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकामा अधिकाशं क्षेत्रमा खेतीयोग्य जमिन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा अघि बढाउने बताए । उनले धानको उत्पादनमा बृद्धि ल्याउनका निम्ती नयाँ नयाँ जातको विउहरु रोप्न आवश्यक रहेको बताए । श्रेष्ठले  किसानहरुलाई प्रोत्साहन गर्नका निम्ती बाँझो जमिनमा नयाँ प्रकारका उत्पादनमुखी कृषि व्यवसाय संचालनका लागि सहजिकरण गरी नगर प्रमुख स्वरोजगार कार्यक्रममा समावेश गराइने निति नगरपालिकाले बनाएको बताए । ‘प्राकृतिक प्रकोप, रोगव्याधि लगायतको कारण कृषिमा गरिएको लगानी डुब्न नदिनको लागि नगरपालिका साथमा छ नगरप्रमुख श्रेष्ठले भने,—‘यस वर्ष गरांै कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा कार्यक्रमलाई अगाडी बढाईएको छ ।,  एक वस्तु सामूहिक उत्पादन, एक वडा एक विशेष उत्पादन कार्यक्रमलाई पनि प्राथमिकता दिएका छौं । ’ श्रेष्ठले कृषि पेशालाई पुख्यौली पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समूह छनौट गरी घर, फर्म र कार्यस्थलमा नै सम्मान गर्ने कार्यक्रम बनाएको बताए । नगरपालिकाले गरौ श्रम बारीमा, खाडी होइन कृषिमा भन्ने अभियान अगाडी बढाएको उनले जानकारी दिए । 
कार्यक्रममा नगरपालिकाले अगाडी सारेको गोरु प्रवद्र्धन कार्यक्रमलाई थप प्रोत्साहनका निम्ती हलगोरुकै प्रयोग गरेर रोपाई कार्यक्रम संचालन गरिएको थियो । कृषिलाई पर्यटन सँग जोड्नका निम्ती नेपाल पर्यटन बोर्डको सहयोगमा धान दिवस मनाईएको नगरपालिकाका कृषि  शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । कार्यक्रममा उपप्रमुख राजु खड्का, मुलपानी कृषि तथा पशुपंक्षी सहकारीका अध्यक्ष बालकृष्ण शर्मा लगायतले कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए । 
कार्यक्रम बागलुङ नगरपालिका—७ का वडा अध्यक्ष मेघनाथ गैरेको अध्यक्ष सहकारीका सचिव माधव प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । रोपाई दिवसका नगरप्रमुख उपप्रमुख लगायतका स्थानियहरुले खनजोत गर्नुका साथै धान रोपेका थिए । 
असार १५ दहि चिउरा
नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ ।


 

प्रतिक्रिया