गलकोटको रिघामा उदय बुद्ध विहार

  • जेठ १, २०८०

बागलुङ । गलकोट नगरपालिका–११ को रिघामा निर्मित उदय बौद्ध बिहारको उद्घाटन गरिएको छ ।   बिहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको ‘उदय रिघा बुद्ध बिहार’ शनिबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् । गुम्बा र बिहारको उद्घाटन गर्दै पाण्डेले गण्डकी प्रदेशले देखिने गरी काम गर्ने बताए । उनले सानातिना भन्दा पर्यटन प्रवद्र्धन गर्ने, आम नागरिकको हितमा काम गर्ने खालका योजना बनाउन माग गरे ।
उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले बागलुङ धार्मिक पर्यटनबाट समृद्ध बन्न सक्ने बताए । उनले धार्मिक क्षेत्रलाई नै पर्यटनमैत्री बनाउन सके ग्रामीण क्षेत्रबाट बसाइसराइ रोक्नसमेत सकिने बताए ।

८० लाख रुपैयाँको लागतमा बनेको गुम्बालाई बैदिक बिधिबाट नेपाल भिक्षु महासंघलाई हस्तान्तरण गरियो छ । हस्तान्तरणपछि महासंघले गुम्बा संचालनका लागि भिक्षु तोकेर पठाउने व्यवस्था रहेको निर्माण समितिका अध्यक्ष शेरबहादुर काउचाले बताए । समितिले यहाँ खानेपानी र शौचालय निर्माणमा थप लगानी चाहिएकोले दाताको खोजी गरिरहेको छ । मध्यपहाडी लोकमार्गबाट ३० मीनेटमा पुग्न सकिने भएकोले यो स्थान पर्यटकको आर्कषक गन्तव्य बन्ने भएकोले लगानीका बाटा खोजीरहेको वडा अध्यक्ष डम्बर श्रीषले बताए ।

बिशेषगरी रिघाबाट रोजगारी खोज्दै युरोप, अमेरिका र हङकङ तथा बेलायत पुगेका युवाले रकम संकलन गरेर पठाएपछि गुम्बा बनाउने आँट आएको काउचाले बताए । रिघा जाने जो–कोही गुम्बामा पुगेर ध्यान गर्ने, शान्त वातावरणमा रमाउने गर्छन् । गुम्बामा देशबिदेशबाट बौद्ध भिक्षुहरु पनि बेला बेला आउने गरेका छन् । २०६८ सालमा बौद्ध भिक्षु भान्ते मेदाङकरले शिलान्यास गरेको गुम्बा र बिहार पूर्ण भएको हो । भिक्षु र पर्यटक बढ्दा बिहारको भवनमा तला थप्नुपर्ने स्थानीयले बताए ।   बैदेशिक रोजगारीमा गएका गलकोटबासीले संकलन गरेको रकममा नगरपालिका, वडा र अन्य दाताको सहयोग जुटाएर विहार र गुम्बा निर्माण गरिएको थियो । 

प्रतिक्रिया