जैमिनी नगरलाई नागरिकको प्रश्न महंगो गाडी किन किनेको ?

  • असार २९, २०८०

बागलुङ।  सार्वजनिक सुनुवाई स्थानिय तहको सुसासन र सामाजिक उत्तरदायित्व पारदर्शिता एवं जवाफदेहिताको लागि एउटा महत्वपूर्ण औजार हो । स्थानिय तहका जनप्रतिनिधि कर्मचारी र आम नागरिकबीच हुने सार्वजनिक सुनुवाईले दुवै पक्षलाई लाभ पु¥याउँछ । कार्यालयले आफुले गरेका काम नागरिकमाझ पु¥याउने र नागरिकले त्यसमा प्रश्न गर्ने, सुझाव दिने, आगामी दिनका योजनामा सुझाव लिन सार्वजनिक सुनुवाईले एउटा पुलको काम गर्दछ ।
जिल्लाको जैमिनी नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाई मार्फत आफुले चालु वर्षमा गरेका कामको समग्र प्रतिवेदन सार्वजनिक गरेको छ भने आम नागरिकको गुनासो सुन्ने र यसको सवाल जवाफ समेत गरेको छ । नगरपालिकाले हालसम्म सम्पन्न भएका काम र सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकको गुनासो यसै वर्ष नगरपालिकाले किनेको नयाँ स्कार्पियो गाडीको र जिल्लामा लागु गरिएको पछिल्लो सवारी भाडा दर कार्यान्वयको विषेमा उठेको थियो । कार्यक्रममा सहभागी नागरिक अर्विन थापाले नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोल र जिवनजल नहुँदा नगरपालिकालाई महंगो गाडी किन चाहियो भनेर प्रश्न गरे । नगरपालिकाले यसै आर्थिक वर्षमा ६३ लाख रुपैयाँमा नयाँ गाडी किनेको हुँदा यस प्रति नागरिकको धेरै गुनासो थियो ।  उनले जैमिनी नगरपालिकामा खेलकुद समिति नभएको, सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका बोडिङ स्कुल पढाएको र यस क्षेत्रका बढ्दो बसाईसराई रोक्न नगरपालिकाले के योजना ल्याएको त्यो विषयमा प्रश्न गरे । 
नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको तथा पुराना योजनाहरु पनि स्थानीय तह आएपछि ओझेलमा परेको सहभागिहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा नगरपालिकामा केही कर्मचारीको पहुँचका आधारमा सरुवा भए पनि सम्बन्धित ठाउँमा नपुगेको गुनासो जैमिनी नगरपालिका–१ का तिलक थापाले गरेका थिए । उनले नगरपालिकाले कर्मचारीलाई आफुखुसी बस्न दिएको र काज फिर्ता तत्काल गर्नुपर्ने माग राखेका थिए । त्यस्तै उनले बजार अनुगमन प्रभावकारी नभएको समेत गुनासो पोखेका थिए ।  बजार व्यवस्थापन समितिका अध्यक्ष क्या. पदम बहादुर श्रीषले खानेपानी र सडकको गुणस्तर देखि नगरपालिकाको सेवा प्रवाहको सन्दर्भमा प्रश्न उठेका थिए ।  स्थानिय शोभा प्रसाद शर्माले त नगरप्रमुख नरबहादुर पुन प्रति धेरै प्रश्न तेर्साए । उनले गाडी किन किनियो देखी लिएर कृषि सेवा केन्द्रको सरकारी भवन हुँदा किन भाडामा लिईएको । राजनितिक दलहरु सँग किन सुझाव नलिएको, कर्मचारी धेरै भए बस्ने ठाउँ छैन जस्ता विषय उठाएका थिए । शर्माले नगरप्रमुखलाई प्रतिप्रश्न समेत गरेका थिए । 
कार्यक्रममा जैमिनी –५ का जयराम आचार्यले बजार क्षेत्रको ढल खोलामा फाल्नुनहुने सुझाव दिएका थिए । उनले जैमिनी नगरपालिकाको अर्को चर्चाको विषय बाँदर पार्क निर्माण गर्न कसरी सम्भव छ जनप्रतिनिधिलाई प्रश्न गरेका थिए । नगरिकले कुश्मिसेरा राङखानी सडक खण्ड निर्माण अलपत्रको विषय, विद्यालयको शैक्षिण गुणस्तर सुधारको विषय मुस्लिम समुदाय र अन्य समुदाय प्रति नगरपालिको दृष्टीकोण, महिला संजाल गठन लगायतका विषयमा प्रश्न गर्नुका साथै जनप्रतिनिधिलाई सुझाव दिएका थिए । कार्यक्रममा सहभागी अधिकाशंले जनप्रतिनिधि र कर्मचारीले जनताको आवश्यकता पुरा गरेर मात्र विलाशिताका सेवा सुविधा लिन आग्रह गरेका थिए । 
नगर प्रमुख नरबहादुर पुनले उठेका प्रश्नहरुको जवाफ सहित नगरपालिका सुशासन र पारदर्शितामा संधै उदार रहेको बताए । उनले नगरपालिकामा आएका समस्याहरुलाई समाधान गर्ने सवै जनप्रतिनिधि तयार हरेको बताए । पुनले नगरपालिकाको आवश्यकतालाई मध्यनजर गरी नयाँ गाडी खरिद गरेको बताए । ‘हामीले कार्यपालिका बाटै निर्णय गरेर आवश्यकताका आधारमा नयाँ गाडी खरिद गरेको हो नगरप्रमुख पुनले भने,–‘नगरपालिकाको वेबसाईडमै सूचना राखेर सवैलाई जानकारी गरायौं । पुराना गाडीको मर्मत संभार पनि महंगो हुँदै गयो  नयाँ आवश्यता प¥यो किनियो, यो पनि जनताको काम गर्न सहजहोला भनेर हो ।  उनले नगरपालिकामा भएका काम कारवाहीहरु जनमूखि हुने गरेको दावी गरे । उनले भाडा दर कार्यान्वयको निकाय नगरपालिका नभएको र यसको सहकजीकरणका लागि सहयोग गर्ने बताए । 
पुनले पालिकाले काम गर्दै गर्दा जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्दछ यसको सुधार गर्न प्रयास गर्ने बताए । उनले जनअपेक्षा के छ भन्ने वुझ्नका लागी पनि यो नागरिक सुनुवाई कार्यक्रम महत्वपुर्ण भएको बताए ।  नगरपािलका जनताको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सधै हातेमालो गरेर अगाडी वढ्न चाहेको नगरप्रमुख पुनको भनाई थियो । पुनले जैमिनी नगरपालिकामा बाँदरकै आतंका कारण बढ्दो बसाईसराई बढेका कारण यसको व्यवस्थापनका निम्ती नगरपालिकाले निति तथा कार्यक्रम मार्फत नै अगाडी बढेको बताए ।  उनले जनताको सुख दुखमा सधै साथसाथै हिड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।  
सुशासन र जिम्मेवारीता वहन अन्तर्गत नगरपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी नागरिकसँग सुझाव र सल्लाह मागेको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘जनताको चाहना पुरा गर्नु नै हाम्रो कर्तव्य हो, कमीकमजोरी सच्चाएर पालिका संमृद्ध वनाउन हामी तत्पर छौ । हाम्रो कमी कमजोरीलाई औल्याई सुझाव दिनुहुन अनुरोध गर्दछौ, उपप्रमुख शर्माले भने, पालिकाले उत्पादन र श्रमलाई सँगै लैजान खोजेको हुदाँ राजनैतिक आग्रह पुर्वाग्रहमा हामीले काम गरेका छैनौं । ’
उनले समृद्ध जैमिनी निर्माणका निम्ती हरेक नागरिक सँग हातेमोलो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाले नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशाशकिय अधिकृत चेतनाथ गिरीले बताए ।  नगरपालिका आफै जनउत्तरदायी हुदाँहुदै पनि अझ परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको उनले बताए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायका विषयगत प्रमुखवाट दिईएको थियो । 
कार्यक्रममा आर्थिक वर्ष ०७९।८० मा नगरपालिकाको प्रगतीको बारेमा योजना शाखा प्रमुख प्रेम सापकोटाले जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार विजय रानाले नागरिक सन्टुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए । 
नगरपालिकाका सुसासन समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा वडा नं. १ का वडा अध्यक्ष विष्णु आचार्यको स्वागत र पत्रकार तारानाथ आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।  
 

प्रतिक्रिया