• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • कला/मनोरञ्जन

इस्कोनको महारात्री : नेपाली संस्कृति, विदेशी प्रस्तुती

  • फाल्गुण ३, २०७९

बागलुङ- हराउँदै गएको संस्कार संस्कृति र सनातन धर्म रक्षाका लागि लागेको संस्था अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) बागलुङले मंगलबार साँझ एक कार्यक्रमको आयोजना ग¥यो। कार्यक्रमको नाम थियो, महारात्री, ‘नेपाली संस्कृति, विदेशी प्रस्तुती’।

कार्यक्रमको नाम सुनेर धेरैले आश्चार्य माने। नेपाली नै नेपाली संस्कार संस्कृति बिर्सदै गएको बेला विदेशीले नेपाली संस्कृति प्रस्तुत गर्ने? इस्कोन बागलुङले टिकट काटेर नै यो कार्यक्रम हेर्न आउनका लागि आह्वान गरेको थियो। मंगलबारको दिन ढलेर सन्ध्याले धर्तीलाई अंगाल्दै गर्दा बागलुङ नगरपालिका—३ किनाराटोल स्थीत जोजोलपा ब्याङ्क्वेटमा मानिसहरुको उपस्थीति बाक्लिन थाल्यो। साँझको ६ बज्दा नबज्दै हल खचाखच भरियो। 

इस्कोनले यस्तो कार्यक्रम विगतमा पनि गरेको थियो। चार वर्ष अगाडिको यस्तै कार्यक्रम हेर्ने मौका पाएकाहरु उत्साहित देखिन्थे। यस पटक पहिलोचोटी कार्यक्रम स्थल प्रवेश गर्नेहरुको अनुहारमा भने पनि कौतुहलता बढि थियो। दर्शकले हल भरिएपछि उद्घोषकको जिम्मा सम्हालेका डा. देवराज श्रेष्ठले कार्यक्रमको थालनी गरे। हलभित्रको बत्ती निभ्यो। पार्टी प्यालेस नाटकघरको रुपमा परिणत भयो। स्टेजमा नेपालको राष्ट्रिय झण्डा पहराउँदै विदेशी अनुहारका कलाकारहरु देखा परे। दर्शकदिर्घाको बाक्लो उपस्थीतिले चर्को हुटिङ लगायो। केही अचम्म मान्दै कानेखुसी गर्न लागे।

अँध्यारो बन्द हलभित्र हल क्षमता भन्दा बढि खचाखच दर्शकले भरिएपछि साँझको सवा ६ बजे ‘सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली’ बोलको नेपाली राष्ट्रिय गानले हल गुन्जायमान भयो। कहिल्यै राष्ट्रिय गान नगुनगुनाएकाहरु पनि आफ्नो कुर्चीबाट उठेर विदेशी कलाकारसंगै राष्ट्रिय गान गाउन थाले। सुरुवातमै रोचक माहोल सिर्जना भयो। हलभित्र भरिभराउ दर्शकले विकल्पको परिकल्पना गर्न नपाई करिब साढे दुई घण्टाको नेपाली संस्कृतिको प्रस्तुती सकियो। 

विश्वका १० वटा देशबाट बागलुङ आएका कलाकारहरुको जादुयी प्रस्तुतीले कैयौं नास्तिक सोंच राख्नेहरुलाई एक पटक पूर्वीय दर्शन र भगवानको बारेमा सोंच्ने र धार्मिक किताबहरु किनेर पढ्ने विचार जन्माईदियो।

चलचित्रको पर्दामाझै बिना रोकावत चलेको प्रस्तुतीले मनोरञ्जन र ज्ञान दुबै प्रदान ग¥यो। छिनभरमै नेपाली भजनमा नृत्य र छिनभरमै चलचित्रको नाटक जस्तो हाउभाउ र प्रस्तुती। कहिले वृन्दावनमा कृष्णसंग रमाउँदै गरेका गोपीनी त कहिले खतरनाक काली भगवतीको रुप धारण गरेका कलाकारको प्रस्तुतीले उपस्थीत दर्शकलाई निमेषभर झर्को लाग्न दिएन।

बागलुङका कालिका भगवतीको महिमासंग जोडिएको राजा जड भरतको कथासंग सम्बन्धित नाटकले सबैलाई मोहित पारेको थियो। ‘चार वर्ष अगाडि पनि मैले यो कार्यक्रम केही अंश हेर्न पाएको थिएँ, पछुतो नहोस् भनेर यस पटक चाँडै आईपुगें र अगाडि बसेर हेरें,’ छोरी सहित कार्यक्रम हलमा पुगेका पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नवीन शिशिर विकले भने,‘मेरी छोरीले पनि निकै चाख मानेर हेरिन्। यो साँझ आनन्द र उल्लासपूर्ण भयो।’ विभिन्न १० देशका २५ अन्तर्राष्ट्रिय कलाकार तथा इस्कोन बागलुङका कलाकारहरुको नाटक सहितको प्रस्तुतीले कार्यक्रममा सहभागीको मन जित्यो। विदेशी भएर पनि नेपाली भेषभुषा र संस्कृतिमा गरिएको प्रस्तुतिले शुरुदेखी अन्त्य सम्मनै वाहवाही पाइरह्यो। 

इस्कोनमा आवद्ध रसिया, युक्रेन, इटली, बेलारुस, फ्रान्स, स्पेन, हंगेरी, काजिकिस्तान, भारत र नेपालका कलाकारले गित, नाँच र नाटक प्रस्तुत गरेका थिए। साढे दुई घण्टाको अवधीमा श्रीकृष्ण र भागवत गीतासंग सम्बन्धित १० वटा नृत्य, दुई वटा नाटक एउटा प्रवचन प्रस्तुत गरिएको थियो। नाटकमा भगवान कृष्णका लिला सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो।

कार्यक्रममा सहभागी बालकालिका, युवायुवती देखि पाका पुस्तासम्म मोहित बनेर हेरिरहे। उद्घोषक डा. देवराज श्रेष्ठको नापतौलयुक्त उद्घोषणले दर्शकलाई ‘बोर’ हुने मौका दिएन।

मनोरञ्जनात्मक र सांस्कृतिक प्रस्तुतीहरुका लागि दर्शकको राम्रै सहभागिता हुने भए पनि प्रवचन सुरु भएपछि भने अधिकांस हल बाहिर निस्कीने, आपसमा कुराकानी गरेर बस्ने चलन देखिन्छ। तर त्यहाँ भने त्यस्तो भएन। ड्रामा र नृत्यको स्वादले लठ्ठिएका दर्शक अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) नेपालका उपाध्यक्ष एवं बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले प्रवचन दिँदा पनि ध्यानपूर्वक सुनेर बसिरहे। नेपाल संस्कार र संस्कृतिमा धनि हुँदा हुँदै पनि देखासिकी गर्दा पछि परेको उनको भनाइ थियो। ‘विदेशीहरु हाम्रो संस्कार संस्कृति र धर्म निकै उत्तम छ भनेर यताको सिको गर्दैछन्,’ उनले भने,‘हामीले भने आधुनिक बन्ने बहानामा आफ्ना संस्कृतिहरु कुल्चेर हिँडेका छौं।’   

नेपाल जस्तो सु–संस्कृत देश दुनियाँमै अर्को पाउन मुस्किल भए पनि पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले नेपालीलाई आफ्नो संस्कार सस्कृतिको संरक्षणका लागि जागरण पैदा गर्न कार्यक्रम गरिएको उनले बताए। ‘पूर्वीय दर्शन र नेपाली संस्कृति साँच्चै विश्वलाई चकित पार्ने खालको छ, यस सम्बन्धीमा विश्वका मानिसहरुले अध्ययन अनुसन्धान गरिरहेका छन्,’ उनले भने,‘हामी भने बत्ती मुनीको अध्याँरो जस्तो भएर अर्काको देखासिकी गरेर विदेशी संस्कार अँगालीरहेका छौं। हाम्रो संस्कार बारेमा सिक्ने हुटहुटी होस् भनेर यो कार्यक्रम गरेका हौं।’

१० देशका २५ अन्तर्राष्ट्रिय कलाकारको नेतृत्व गरिरहेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार संस्कृतिको पटक—पटक प्रशंसा गरिन्। उनले भागवत गीता र श्रीकृष्ण लिलाले जीवनको अस्तित्व सिकाउने बताइन्। ‘तपाईहरु कोही वृन्दावन जानु भएको छैन भने जानुहोस्,’उनले भनिन्,‘ तपाईहरुको संस्कार संस्कृति भित्र जीवन छ। त्यसलाई बुझ्नुभयो भने तपाईको दुःखको अन्त्य हुन्छ। कार्यक्रम हेरेपछि अधिकांस दर्शकले यसको प्रसंसा गरे।

‘विदेशी नागरिक भएर पनि हाम्रो यहाँको कला संस्कृतिको बारेमा यति धेरै चासो र ज्ञान राखेर हामीलाई नै दिक्षित गर्नेगरी प्रस्तुती गर्नु निकै ठूलो कुरा हो,’ सुदिप राजभण्डारीले भने,‘हामी आधुनिक बन्नका लागि कहीं कतै अरुको चाल चलनको नक्कल गर्नु पर्दैन हाम्रो संस्कार जोगाउन सके हुन्छ भन्ने पाठ पनि यो हो।’ विदेशी कलाकारले नेपाली संस्कार र दर्शनको ऐना देखाएको उनको प्रक्रिया थियो। 

यो कार्यक्रममा नेपाली युवाहरुमा नैतिक शिक्षा दिएको अधिवक्ता राम शर्मा बताउँछन्। ‘पछिल्लो समय नैतिक शिक्षा ह्रास हुँदै गएको छ,’ उनले भने,‘यो कार्यक्रमले सनातन धर्म र गीताको अध्ययनबाट नैतिक शिक्षा आर्जन गर्न सकिन्छ। अहिले युवाहरुले धर्म र ध्यानबाट आनन्द लिन सक्छन् भन्ने सिकाउँछ।’ भौतिक सुख सुविधाको पछि लागरे मानिसहरु यन्त्र जस्तै भएको बेला धार्मिक ज्ञानहरुको महत्व झन बढेर गएको र यसले आपसी सद्भाव र भाईचाराको विकास गर्ने उनी बताउँछन्।

महाशिवरात्रीको पूर्व सन्ध्यामा गरिएको उक्त कार्यक्रममा इस्कोन बागलुङले एक हजार र पाँच सय रुपैयाँको टिकट व्यवस्था गरेको थियो। कार्यक्रममा पाँच सय जना टिकट लिएर अन्य स्वयंसेवक र पाहुना गरी थप एक सय जना गरेर ६ सय बढिले उक्त कार्यक्रममा सहभागिता जनाएको इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले बताए। सबै कलाकारहरुले निःशुल्क प्रस्तुती दिए पनि उनीहरुको यातायात र अन्य व्यवस्थापनमा करिब पाँच लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए

प्रतिक्रिया