पानीले ताल परेका लोकमार्गको पुलमा स्थानिय युवा सक्रियतामा मर्मत

  • कार्तिक १४, २०७८

बागलुङ- मध्यपहाडी लोकमार्ग बागलुङ–बुर्तिबाङ खण्ड अन्तरगत बडिगाड गाउँपालिकाको न्वारको पुल गत असार देखी नै पानीको तालले भरिएको थियो । धेरै पटक लोकमार्ग आयोजनाका प्रमुख लगायतको टोली यही बाटो हुँदै यात्रा गरे तर हिँउद लाग्न लाग्दा पनि सडक र पुलमा परेका खाल्डा र पानीको पोखरी पुर्न कसैले चासो दिएनन् । बारम्बार स्थानियले लोकमार्ग आयोजनालाई पुलमा पानीले भरिएको पोखरी पुर्नका लागि आग्रह गर्दा पनि आयोजनाले चासो दिएन ।
पानीको ताल भएको सडकमा यात्रा गर्दा मोटरसाईकल सवार दैनिक हिलोमा भिज्न बाध्य हुनुपर्ने अवस्था थियो । सडकको यस्तो अवस्था देखेपछि स्थानिय युवाहरुको सक्रियतामा आईतबार उक्त पुल वरीपरीको क्षेत्र मर्मत गर्नुका साथै पानीको पोखरी भएको स्थान पुरेका छन । 
स्थानिय राजन पाईजाको नेतृत्वमा आठ जना युवाहरु सक्रिय भएर सडक मर्मत गरेका हुन । उनिहरुले गाउँपालिका सँग समन्वय गरी स्काभेटर मगाएर स्थानिय हरि घिमिरेको ट्याक्टरमा ७ टिप ट्याक्टर टुंगा र गिठी सहितको माटो ल्याएर पुरेका हुन । 
लोकमार्ग आयोजनालाई बारम्बार आग्रह गर्दा पनि सडक मर्मतका लागि चासो नदेखाए पछि आफुहरु सक्रिय भएर सडक मर्मत गरेको स्थानिय युवा राजन पाईजा बताउँछन । ‘यो बाटो हिँड्ने सवारी साधन र यात्रुले दैनिक सास्ती खेप्नुप¥यो पाईजाले भने,–‘यो सास्ती हामी देख्न सकेनौ । पुलमा पानीको ताल हटाउनका निम्ती युवाहरु सक्रिय भएर खाल्टो पुर्ने काम भएको छ । अब सहज हुन्छ की ।’ 
उनले जिम्मेवारी निकाय नै मौनता बस्दा लोकमार्गमा विभिन्न ठाउँमा सडकको हालत यस्तै भएको बताए । बडिगाड क्षेत्रमा राजनको नेतृत्वमा अन्य सामाजिक कामहरु पनि निरन्तर भै रहेका छन । 

प्रतिक्रिया