बागलुङ- विहिबार मात्र बागलुङ जिल्लाको प्रशासन समाल्न आई पुगेका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले फागुन २१ गने हुन गैरेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने सवैको दायित्व भएको बताएका छन ।
शुक्रबार पहिलो पटक जिल्लाका पत्रकारहरुसँगको भेटघाटमा उनले निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्न राजनितिक दल, नागरिक समाज पत्रकार सवैले सहयोग गर्ने विश्वास रहेको बताए । उनले जिल्ला प्रशासनबाट प्रदान हुने सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी ढंगले संचालन गर्न आफु कटिबद्ध रहेको बताए । ‘कानुनले प्रत्याभूत गरेका हाम्रो अधिकार क्षेत्र भित्र रहेर जनताको सेवामा खटिने प्रयास गछौँ, जिल्ला भित्र हुने सार्वजनिक चासोको विषयमा प्रशासन सधै साथमा छ प्रजिअ आचार्यले भने,–‘ हामी निरन्तर जनताको सेवामा खटिने छौँ शान्ति, सुरक्षा र अमनचयनलाई नै बढी प्राथमिकता दिनुपर्ने दायित्व प्रशासनको हो । उनले नागरिकका समस्या समाधान गर्न निरन्तर लाग्ने बताएका छन । आचार्यले आफु आएको दुई दिन मात्र भएको कारण जिल्लाको सम्पुर्ण अवस्था बुझ्नै बाँकी रहेको बताए । उनले इलाका प्रशासन कार्यालयबाट प्रदान हुने सेवाको विषयमा आफुले बुझेर थप काम अगाडी बढाउने बताए ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा ढुङ्गा उत्खनन् हुने र खुलेआम जुवातास खेलाउने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सुझाए । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा नागरिकले सास्ती खेपेको र यसको समाधान गर्नका लागि प्रजिअलाई आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले जिल्लाको सञ्चार माध्यमको स्थिती बारे जानकारी गराएका थिए । कार्यक्रम प्रशासकिय अधिकृत खिमबहादुर विश्वकर्माले संचालन गरेका थिए ।