बागलुङ —आईतबार सम्पन्न निर्वाचनको मतपरिमाण आउने क्रम सुरु भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गर्दै विजयी भएका हुन । यो पहिलो परिणम हो । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।
२९ बर्षिय गौचनले ६० बर्षिय तुलाचनलाई पराजित गरेका हुन् । गौचन नेपाली काँग्रेसका जिल्ला सभापति एवम् पुर्व मन्त्री रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । निर्वाचन आयोगले मतपरिणाको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । गौचनले आफुले पाएको टिकट छोरालाई उठाएका थिए ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए । २०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।