बलेवा भैरवस्थानमा हरेलो मेला 

  • साउन २८, २०७९

बागलुङ, – बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मंगलबार हरेलो मेला गर्न लागिएको हो ।
हरेलो मेला व्यवस्थापनका लागि स्थानीय सर्वसाधारणको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने ६ वटा वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताए । ‘पहिलो पटक हामीले मेला आयोजना गर्दैछौं, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पुजाआजा मात्रै हुने गरेको थियो’, हमालले भने । 
मेलामा भजन प्रतियोगीता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष हमालले बताए । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । ‘यो ऐतिहासिक मेला हो, हरेलो मेलालले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने, ‘मेलालाई निरन्तरता दिनुपर्छ ।’ 
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मंगलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्यांग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयुँपाटाका भवानीप्रसाद रिजालले बताए ।
यो पर्वको अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणी शर्माले बताए । बलेवा कालभैरव साबिकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलीसँगै नरिवल र फलफूल चढाउने चलन छ ।
कालभैरवमा बली दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी नानु बुढाथोकीले बताइन् । पछिल्लो समय पशुबलीको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबली दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।
कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँची र काठमाडौं तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।

May be an image of one or more people and text

प्रतिक्रिया