बागलुङ- बागलुङका एक व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि आर्थिक सहयोग गरेका छन । बागलुङ बजारमा औषधी व्यवसायी गर्दै आएका युवा व्यवसायी सुशिल पन्त (शिशिर)ले आफ्नो जन्मदिनको अवसरमा पार्टीको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए । काँग्रेस बागलुङले आफ्नै कार्यालय निर्माणका लागि थालेको अभियानमा पन्तले सहयोग गरेका हुन ।
भवन निर्माणका लागि आर्थिक संकलन अभियानमा हाल सम्म झण्डौ ३० लाख रुपैयाँ संकलन भै सकेको सभापति शेरचनले बताए । पन्तले नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले स्थापना गर्न लागेको ५० लाख रुपैयाँ बराबरको अक्षयकोषका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन । विपि स्मृति भवनको सहयोग काँग्रेस बागलुङका सभापति शेरचन र अक्षयकोषको रकम क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेललाई हस्तान्तरण गरेका हुन । पन्त नेपाली काँग्रेस बागलुङ नगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि हुन भने जिपि कोईराला फाउण्डेशनका जिल्ला सदस्य हुन । उनि स्वास्थ्यकर्मी संघका केन्द्रिय प्रतिनिधि र नेपाल सिएमए संघका केन्द्रीय सदस्य समेत रहेका छन । आफ्नो जन्मदिनको अवसरमा पार्टीको संस्थागत विकासका निम्ती आर्थिक सहयोग गरेको पन्तले बताए ।