काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोमबार पनि मन्त्रिपरिषद् बैठक बस्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग सरकारले परामर्श गरेको थियो। स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ ०७९ मा सकिँदै छ। उक्त ऐनअनुसार जनप्रतिनिधिमा निर्वाचित भएको मितिको साताैँ दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था गरिएको छ। वैशाख ३० गते निर्वाचन हुँदा जेठ ६ गतेबाट स्थानीय तहमा नयाँ नेतृत्वले पदवहाली गर्नेछन्।