बागलुङको कुँडुलेमा शालग्राम महोत्सव हुने

  • चैत २९, २०७९

बागलुङ - कालिगण्डकी र यहाँ पाईने शालग्रामको महिमा बुझाउनका निम्ती बागलुङमा शालग्राम महोत्सव गरिने भएको छ । बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा रहेको श्रीधराचार्य शालग्राम संग्राहलय तिरुपती बालाजीधाममा अगामी बैशाख ११ देखी १५ गते सम्म महोत्सव संचालन हुने भएको छ ।  महोत्सवमा साहित्व संगित र साधनाबाट कृष्ण गण्डकी र शालग्रामको महिमा र महत्व बुझाईने महोत्सव मुल आयोजक समितिका संयोजक एवं  श्रीधराचार्य शालग्राम संग्राहलयका अध्यक्ष स्वामी श्री ऋषिप्रपन्नाचार्यले जानकारी दिए । संग्रालय नजिकै रहेको रङ्गवेंकटेश मुक्तिनारायण भगवानलाई नयाँ मन्दिरमा प्रतिस्थापन गरिएको प्रथम वार्षिकोत्सवको अवसरमा महोत्सव आयोजना गरेको वुधबार ऋषिप्रपन्नाचार्यले जानकारी दिए । 
कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको संरक्षण गर्ने उदेश्यले निर्माण गरिएको संग्रहालय थप प्रचारप्रसार, वैदिक संस्कार संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको उनको भनाई थियो । 
महोत्सवमा विषेश त साहित्यक विद्या मार्फत कालिगण्डकी र शालिग्रामको महिमा र महत्वको बारेमा बुझाईने छ । महोत्सवको पहिलो दिन बैशाख ११ गते कालीगण्डकी र शालग्राम गौरवगाथा विषयक कविगोष्ठी संचालन गरिने छ । दोस्रो दिन बैशाख १२ गते कालीगण्डकी र शालग्राम कथाव्याथा विषयक रत्यौली सहित आध्यात्मिक प्रवचन, १३ गते कालीगण्डकी र शालग्राम महिमा विषयक आध्यात्मिक भजन झाँक्री नृत्य सहित आध्यात्मिक प्रवचन, १४ गते कालीगण्डकी र शालग्राम विषयक आध्यात्मिक दोहोरी र हास्यकलाकार दाह्रीबाको प्रस्तुती, र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषी प्रपन्नाचार्यले बताए । 
बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीमा षडाचार्य स्वामी श्रीधराचार्यले २०४० सालमा स्थापना गरि संचालित रंगवेंकटेश मुक्तिनारायण मन्दीर जिर्ण भएकोले नेपाली वास्तुशैलीमा श्रीराम नाम अंकित गण्डकी शीलाद्धारा स्वदेशी सामग्री प्रयोग गरिएको विशाल कलात्मक मन्दीर एवं हालै निर्माण गरीएको अलौकिक शालग्राम संग्रहालयको प्रवर्द्धन गर्न महामहोत्सव आयोजना गरिएको हो । संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ । संग्राहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख २५ हजार शालिग्राम राखिएको छ ।
चौध वर्ष लगाएर संकलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । संग्राहलयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ ।
समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि संग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने प्रदर्शनीकक्ष निर्माण गरिएको छ ।
शालिग्राम सिलाको महत्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका नदी, मठ मन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्व र महिमामा केन्द्रीत वृत्तिचित्र समेत राख्ने तयारी गरिएको छ । 
 

प्रतिक्रिया