बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार जैमिनी नगरपालिका–१ कुस्मिशेरा बजारमा अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले दुई वटा दर्ता बिनै संचालन गरेका डेण्टल क्लिनिक र किराना पसलमा ताल्चा लगाएको छ ।
कुस्मिशेरा बजारमा दर्ता बिना संचालनमा रहेको मेरो डेण्टल क्लिनिक र एक किराना पसल बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमनका क्रममा म्याद नाघेका अद्याय समान फेला पारेको र उक्त सामानलाई बरामद गरि नष्ट गर्न नगरपालिकामा राखिएको बरालले जानकारी दिए । “नगरपालिकासँगको सहकार्यमा बजार अनुगमन गरेका हौँ, अनुगमनका क्रममा दुई वटा पसलमा चाबी लगाएका छौँ, उनीहरुलाई जरीवाना पनि गर्छौँ, अन्य दुई वटा दुई वटा कस्मेटिक पसल दर्ता नभएको पाइयो, उनीहरुलाई पनि दर्ता गर्न लगाएका छौँ बरालले भने ।”
धेरै पसलहरुमा मूल्य सूचिनै नराखेको पाईएको हुँदा व्यवसायीलाई एक हप्ता भित्र मूल्य सूचि राख्न लगाइएको सहायक प्रजिअ बरालको भनाइ छ । पछिल्लो समयमा जिल्ला प्रसासनले सदरमुकाम क्षेत्र मात्र नभएर ग्रामिण क्षेत्रमा पनि अनुगमनका कामलाई निरन्तरता दिएको छ ।