जगदिशचन्द्र उपाध्याय- बि सं २०३१ साल तिरको हिउँदको कुरा हो । एउटा मझौला कदको व्यक्ति लामो कमिज सुरुवाल, कता कता नमिलेको कालो रङ्गको कोट, हेर्दा पुरानो पुरानो देखिने शिर भाँचेको भादगाउले टोपी, कोटको खल्तीभरी अटोस नअटोस पत्रिका, कागजात र काधमा ऊनको झोला भिरेको हल्का साँवलो पोतको हल्का खैरो आँखा अलिकति बाहिर निस्किएका सेता दाँत, तिखो गरुङ्गो आवाजमा गफ्फिदै आएका एक व्यक्ति । मेरो घर पेटिमा मेरा स्वर्गवासी पिता जी युक्ति बल्लभ उपाध्याय, छिमेकी काका देब बहदुर श्रेष्ठ अधिवक्ता पद्मनाथ शर्मा दाजु, स्व हरि प्रसाद पौडेल, हरि प्रसाद श्रेष्ठ, आनन्दमान शाक्य र अरुकेहि गाँउबाट झरेका भलाद्मीहरु केहि बिहानी घाम ताप्ने चिया पिउने क्रममा निस्केका कर्मचारी, शिक्षक, विद्यार्थीहरुका बीचमा बढो दमका साथ कुनै प्रसंगमा चिसो बिहानिको न्यानो घाम सँगै तातिंदै गरेका नेता गोबिन्द प्रसाद शर्मा कँडेललाई मैले यो दृष्य नियाल्ने र चलेको प्रसंगलाई आफ्नो कलिलो मश्तिष्कमा घुसाउने प्रयत्न गरि रहें ।
स्कुलमा बेला बेलामा हरिताल आउथ्यो । साथिहरु हतार हतार झोला भिर्थे र भागाभाग हुन्थ्यो र बजारको बसाई भएकाले हामि बजारियाहरु बजार तिरै भाग्थ्यौं र बाटोमा २/४ जना पुलिसले लौरो देखाँउँदै झन भगाउथे । बजारमा कहिले कुनै चोकमा कहिले कुनै चिया पसलमा यिनै कालाकोटे गोबिन्द बा केहि झुण्ड मा गफिएकै हुन्थे ।
मेरा पिताजी, दाजुहरु र अरु वहाँहरुका साथिहरु बिभिन्न बहानामा जुट्ने र त्यहि हरिताल, भुट्टो, बहुदल, निरङ्कुश, तानाशाह, मण्डले, प्रजातन्त्र, अधिकार, स्वतन्त्रता, बिचार, आदर्श, सिद्दान्त, समाजवाद, धनि गरिब, बिकास विश्व, रसिया, अमेरिका, भारत, चीन, सिक्किम, पाकिस्तान, फाँसि, मृत्युदण्ड, जेल, सर्वस्वहरण, देश निकाला, सहिद, अंगभङ्ग जस्ता शब्दावली प्राय बसाई, चिया पसलका गफ अनि यदा कदाका बसाईमा दोहरिई रहने गर्दथे ।
मलाई यी शब्दले बिस्तारै आकर्षित गर्न थाले । यस्ता जमघटमा अडिएर सुन्ने रुचि बढ्न थाल्यो, आफ्ना साथीभाई लाई सुनाउन र यिनै प्रसंगमा कुरा गर्न र सुन्न पाए भन्ने हुटहुटी बढ्दै गयो ।
एक दिनको कुरा हो सदा झैं मेरो घर पेटीमा मानिसहरु जुट्दै गए, जमघट रसिलो बन्यो, मेरो कलिलो दिमागले एउटा बिष्लेषण गर्यो कि मानिस यस्तो जमघटमा बढ्दै गएकाछन, खुब मन खोलेर गफिएका छन र तिनै शब्दावलीहरु बारम्वार दोहोरिएका छन् ।
बिस्तारै मानिसहरु छुट्टिदै गए, मलाई एउटा जिज्ञासा निकै दिन देखि मनमा उठि रहेको थियो कि यी कालाकोटे मानिस खासमा को हुन ? किन यसरि मानिसहरु जम्मा भएर तिनै शब्दावलीका वरिपरि गफ्फिंदै रमाउँछन ?
यी र यस्ता बसाईका एउटा सकृय ब्यक्ति हुनुहुन्थ्यो मेरा पिताजी, एउटा साहशी, कर्मशिल, क्रान्तिकारी, प्रगतिशिल, प्रजातान्त्रिक बिचार भएका, उद्धमि, निष्ठावान, निर्भिक र केहि गरिरहनु पर्छ भन्ने स्वाभिमानी, दृढ आत्मविश्वासी । उहाँको प्राय म साथमै हुन्थें । सायद बिदाको दिन थियो अलि ढिलो खाना खाने चलन थियो पिताजीको । अब भने खाना खाने समय पनि थियो आफ्ना नित्य कर्म पछि खान बसेकै बेला मैले पिताजीसँग यी मेरा मनमा उठेका कैयौं जिज्ञासा मेटाउने आँट गरेँ र पिताजी नजिक पुगेर सबै जिज्ञासा राखें । पिताजी बडो प्रशन्न भएर बताउभयो । तब तथा भयो की काला कोटे, काँङ्ग्रेसका नेता हुन । पाकिस्तानमा जुल्फिकार अली भुट्टो लाई फाँसी दिए । हाम्रो देशमा पनि निरङ्कुश शासन छ, प्रजातन्त्र छैन । जनताका नैसर्गिक अधिकार छैनन् । त्यसैले बिद्ध्यार्थी आन्दोलन सुरु भएको छ । शैक्षिक हडताल भैराखेको छ, पार्टीहरु प्रतिबन्धित छन । नेताहरु कोहि जेलमा छन, कोहि बिदेश निर्वासनमा छन, धेरैलाई मारेर सहिद बनाए ।
भारत, अमेरिका बेलायत धेरै मुलुकमा प्रजातन्त्र छ । देश कमजोर हुँदा छिमेकिले हेप्छन । सिक्किम भारतले खायो, तिब्बत चीनले खायो । हाम्रो देश सानो छ यहाँ राजाको निरङ्कुश शासन छ। पञ्चायतका नाममा दललाई प्रतिबन्ध लगाएर नेतालाई जेल हालेर कसैलाई पनि बोल्न लेख्न नदिएर सिमित स्वार्थ मिल्नेले मात्रै देश चलाएका छन । देशमा भय छ, जनता कमजोर छन् । छिमेकी देश मिचहा छन भनेर सबै तिर अहिले यहाँ जस्तै आवाज उठ्न र जनता जाग्न थालेका छन । यस्तै जागरण गराऊँदै, यहाँको निरङ्कुश साशन हटाउन जता ततै बोल्दै हिड्ने यी कालाकोटे मानिस बिहुँका हुन् । काङ्ग्रेस पार्टीका नेता हुन् । अरु उनकै साथि हुन बुझ्यौ भनेर मेरा सारा जिज्ञासा सुझाई दिनु भयो ।
मेरा मनका सारा जिज्ञासा मेटिएर मन चङ्गा झै भयो । एकै पलमा धेरै समय देखि गुम्सिएका सारा कुराले अब ममा एउटा भाव पैदा भयो । यी मैले बेला बेलामा सुन्ने गरेका शब्दको पुरै अर्थ मेरो मन मुटुमा घर गरेर बस्न थाले ।
अलि दिन भयो घर पेटीमा, चोक बजारमा मानिस जम्मा हुन्थे, स्कुलमा झन बाक्लो हरिताल हुन थालेको थियो, मेरा आँखा उदास हुन थाले, यी बसाई र गफ्फाईमा त्यी कालाकोटेलाई देख्न छाडे । ममा कसरि भेटौं भै रहन्थ्यो । दिन बित्दै आन्दोलन बढ्दै गयो कालाकोटे आए रे गए रे सुनि रहन्थें तर नभेटेको न देखेको धेरै नै भयो ।
एक दिन सदा झैं मेरा घर पेटीमा मानिसहरु जम्मा हुन थाले । पहिले पहिले भन्दा अलि फरक मानिसलाई देखें, गाँउ तिरबाट आएका, सुरवाल कमिज र अस्कोट लाएकाहरुको बढ्तै उपस्थिति थियो । यसै बेला मेरा छिमेकि देब बहादुर काका, हरि गोबिन्द काका, केदार नारायण भारी, पद्मनाथ दाई, आनन्दमान शाक्य, हरि प्रसाद श्रेष्ठ, टंक प्रसाद कँडेल, प्रजापति कँडेल मणिभद्र शर्मा कडेल लगायतका अरु थुप्रै मानिस सहित तिनै कालाकोटे “गोबिन्द बा” अनि बजारका मैले सँधै देख्ने मेरा सहोदर दाजु गणेशनाथ उपाध्याय, कृष्णराज शर्मा, सुमन शाक्य, शुभास आचार्य, महेन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, दिपक श्रेष्ठ, रत्न गौचन, मुरारी गौतम, केदार गौतम, केशब कँडेल लगायतका थुप्रै साथिहरुको जमघट भयो । घर अगाडि खालि जग्गामा परालको टौवा थियो, सबै जना त्यहिँ जमघट भयो र बैठक भयो । म र मेरो दाजु कृष्णले बैठकमा बसेकालाई खुबै चिया बोक्यौं । धेरै लामो समय बसेर धेरै छलफल भएको मलाई याद छ । पर्चा बाडिए गाउँ तिरकाले लिने र जाने काम पनि भै नै रह्यो । सबै बाँडफाँड सकेर सबै तितर बितर भए ।
साँझ मेरा दाजुहरु सहितका युवा दाजु संगै घरमा जम्मा भए माथि माथि तलामा बसेर धेरै नै अबेर सम्म गफिए । हामिलाई माड पकाउन लगाईयो । खाना साना खाईवरि त्यो माड र पर्चा लिएर बजारमा टाँस्न टोली खटिए । एउटा टोलीका पछाडि म पनि लागें । केहि दिन सुन सान भयो । चोक बजारमा पुलिस र अन्य देखिन थाले । त्यी सँधै देखिनेहरु आआफ्ना धन्दामा लागेर होला चोक बजारमा देखिन ।
तर उता नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वि पी कोईराला लामो निर्बासन तोडेर स्वदेश फर्किने रे रास्ट्रिय मेलमिलापको नीति लिएर यो निकै चर्चाको बिषय थियो । रेडियो पत्र पत्रिका पर्चा अनि जन जनमा ब्यापक चर्चामा थियो । मलाई अब भने नया हुटहुटीले घर गर्यो कि कहिले बिपी फर्किन्छन ? अनि के मैले भेट्न देख्न सकुँला ? बुझ्न सकूँला ? साँझ घरहरुका माथिल्ला तलामा बसेर रेडियो सुन्न भने यता उताबाट जुट्थे, अनि खासखुस खासखुस गरेर फेरि जान्थे यो क्रम निकै नै चल्यो ।
केहि समय यस्तै चल्यो, खासखुस गरेर पर्चा बाड्ने, चिठि पुराउने अनि रेडियो र पर्चा च्यापेर कुना पस्ने यसै बिचमा म पढाईको शिलशिलामा दाजुहरुसंग काठमाडौं पुगेँ । त्यहाँ झन चर्को माहौल रहेछ । ब्यापक धरपकड, नारा जुलुस, मारपिट सब थोक दाजु भैरबनाथ उपाध्याय जो त्रिचन्द्र क्याम्पसमा पढ्नु हुन्थ्यो । त्यहाँका युबा बिद्यार्थी नेता पर्बत फलेवासका यम शर्मा पौडेल जसको सशक्त व्यक्तित्व र कृष्ण प्रसाद भट्टराईका संगतिका कारण ब्यापक चर्चा थियो त्यसताका । पुरै जिवन उत्सर्ग गरेर लाग्नु भएको रहेछ । दाजु वहाँहरुको सम्पर्कमा रहेर बिभिन्न आन्दोलनका मोर्चमा लाग्नु भएको रहेछ ।
यतिबेला मुलुक पुरै आन्दोलन मय बनिसकेको थियो । स्कुल कलेजमा पढाई कम, हल्ला खल्ला बढि हुने गर्दथ्यो ।
बिपी कोईराला आफ्ना केहि नेता साथिहरुसाथ नेपाल आउनु भएको थियो, देश बिदेश बाट वहाँलाई भेट्नेको लर्को ठुलैहुन्थ्यो, म सहित दाजु भैरब र यम शर्मा पौडेलका साथ विपी निवास चाबेल मित्र पार्क पुग्यौं । करिब २ घण्टाको प्रयास पछि सामुहिक भेट पायौं । मसिनो स्वरमा केहि बताईरहेको त्यो दृष्य मेरा लागि अद्भुत बन्यो ।
उता पञ्चायती निरंकुशता पक्षधर मण्डलेहरु राज्य शक्तिका आडमा देशैभर खुब गुण्डा गर्दिमा लागेका थिए । मुलुक आन्दोलित थियो । बिद्यालय, कलेजमा पढाई थिएन । घर परिवारमा धेरै सम्पर्क नहुने, म कलिलो उमेरको मानिस एक दिन दाजुले गाँउले दाजु पर्ने वहाँको साथिसंग घर जाउ यहाँ नी पढाई छैन भन्नु भयो र म बागलुङ फर्के । काठमाण्डु बागलुङ यो बिचमा निकै भई रह्यो । समय बित्दै गयो ।
जनमत सङ्ग्रह र गोबिन्द बा
एक दिन बिहानै देखि मानिस खुब सडकमा निस्किए, ठुला ठुला स्वरमा मन खोलेर बोल्न थाले, धेरै मानिस जम्मा भए र भेला नै भयो र भनियो जनमत सङ्ग्रह घोषणा भयो, निकै खुसिभएको मलाई लाग्यो ।
केहि दिनमा बहुदलको प्रचार गर्ने कार्यालय खुल्यो । गोबिन्द बा संग प्राय भेट भै रहें आनन्द लाग्थ्यो, उर्जा थपिन्थ्यो, रगत तातेर आउथ्यो । यो सम्पर्क कार्यालयमा सचिब राखिए सायद भुमिश्वर नाम थियो दमेकका, अलि अलि अपाङ्गता थियो, प्राय हामि कहाँ आएर मेरा पिताजीसंग गफिदै बि बि सि र अल ईण्डिया, सिलोनका समाचार नसुनि नहुने ।
बहुदलको निलो र पञ्चायतको पहेंलो चुनाव चिन्ह नै रङ्ग । खुब हिडियो स्कुलको निलो ड्रेस लगाएर निलै पर्चा बोकेर । अब भने गोबिन्द बा संग बाक्लै भेटहुन थाल्यो ।
जनमत संग्रह भयो, परिणाम पञ्चायतकै पक्षमा पुग्यो । धाँधलिका सयौं खुलासा आए तर पनि परिणाम स्विकारेर बिस लाख मतलाई साथमा लिएर जाने बिपीको धारणा आयो । सुधारिएको पञ्चायत भनियो तर झन निरंकुसता बढ्यो, पार्टी प्रतिबन्धित नै रहे ।
२०३८ को निर्वाचन बहिस्कार र गोबिन्द बा
२०३८ सालमा आम निर्वाचन भनियो तर चुनाव चिन्ह रोज्न पनि नपाउने गरि संकुचित साशन चल्न थाल्यो । पञ्चायतमै ईतर र भितर पक्ष हुर्किन थाले । गोबिन्द बाको नेतृत्वमा निर्वाचन बहिस्कार गर्ने नीति अनुरुप फेरि आन्दोलनमा गयौं ।
बिपी कोईरालाको देहावशान र गोबिन्दबा
२०३९ श्रावण ६ गते महामानव विपी कोईरालाको देहाबशन भयो उहाको पार्थिव शरिर लाई आर्यघाटमा विसर्जन गरियो ।
वचेको अस्तु देश भरका प्रमुख पवित्र घाटमा बिशर्जन गर्नेनीति अनुसार गोबिन्द बा ले त्यो अस्तु लिएर आउनुभयो । जसको हजारौं जनसागरका बिच तत्कालिन महेन्द्र बहुमुखि क्याम्पस हातामा रहेको खुला मञ्च चौर बाट यात्रा आरम्भ गरि निरहेघाटमा पुगेर अश्तु ससम्मान बिसर्जन गरियो ।
२०४२ सालको सत्याग्रह र गोबिन्द बा
दश दिन करिब चलेको सदरमुकामका बिभिन्न कार्यालयमा धर्ना दिँदै स्थगित भएको यस आन्दोलनले निकै उत्साहका साथ सहभागिता बढाई रहेको थियो । बागलुङमा आन्दोलनको नेतृत्व गोबिन्द बाले गर्नु भएको थियो । बिहुँ, लेखानी, गलकोट, दमेक सर्कुवा, जैदि, छिस्ती, बिनामारे, बलेवा बागलुङ वरपरका बस्ति बस्तिबाट धर्ना बस्ने, गिरफ्तरी दिने, थुनामा जाने कार्यक्रम थियो। जेल भरियो आन्दोलनले थप रुप लिईरहेको थियो । सयौं नेता कार्यकर्ता धर्नामा हुन्थे । गाउँ गाउँलाई पालो बाडिएको थियो । म तत्कालिन महेन्द्र बहुमुखि क्यम्पसमा ने बि संघको नेतृत्वमा थियँ । पहिलो दिनमै धेरै नेता पक्राउ गरेको थियो । दोश्रो दिन झन बढि सहभागिता रह्यो । तेस्रो दिन युवा बिद्यार्थिको पालो थिया े। हामि कलेजमा जम्मा भएर मालपोत कार्यालयमा धर्ना दिन पुग्यौं । धरपकड भयो, ठुलो संख्यामा पक्राउ गर्यो। लाठी लगाउँदै सशस्त्र प्रहरि गुल्म रुद्रे पिपल पुरायो । गोबिन्द बा लगायतका नेता पहिलेनै लगेर थुनि सकेको थियो । सो दिन लगेका हामि मध्य, बिद्यार्थी नेता, कृष्णराज शर्मा, शुभराम भारी विशाल नारायण भारी, केदार गौतम लगायतका साथिहरुलाई जेल चलान गरि बाँकिलाई पाता फर्किने गरि कुट पिट गरि छोडियो । यसरि धर्ना दिने क्रम झन झन बढेकै अबस्थामा, शान्तिपूर्ण यस आन्दोलनलाई बदनाम हुने गरि रामराजा प्रसाद सिंहका नामबाट राष्ट्रिय पञ्चायत सभाहल लगायत स्थानमा बम विस्फोट गराई जन धनको क्षति पुग्ने गरि भएको हिंश्रक गतिविधिका कारण आन्दोलन स्थगित हुन पुग्यो । थुनामा रहेका गोविन्द बा लगायतका नेता कार्यकर्तालाई चरम यातना दिई क्रमस छोडियो ।
२०४६ सालको आन्दोलन र गोबिन्द बा
विश्व राजनीतिमा आएको परिवर्तन, पञ्चयती ज्यादती र आम नागरिकमा आएको परिवर्तनको चहानालाई हेर्दै, काँग्रेस पार्टिले आन्दोलनमा जाने सङ्केत संगै देशभर जनमत तयार गर्ने नीति लियो । देशभर नेता खटाईए मलाई राम्रो सम्झना छ, म त्यती नेपाल बिद्यार्थी संघको जिल्ला सभापति भै सशक्त सङ्गठन निर्माणका लागि जिल्ला भर गाऊँ, बिद्यालय, कलेज, नगर समिति मात्र नभै जिल्लाका सदरमुकाम, दक्षिण, गल्कोट र पक्षिम चार क्षेत्र निर्धारण गरि अधिबेसनहरु गराउँदै सङ्गठन मजबुद बाई चर्चामा थियौं ।
सायद यहि भएर होला मलाई एउटा सुचना पार्टि केन्द्रबाट प्राप्त भयो । मलाई राम्रो याद छ २०४६ मङ्सिर १४ गतेको दिन थियो । मैले तत्काल उपलब्ध साथिहरुलाई सामान्य सुचना गरें । गोबिन्द बा लाई गुप्त भेट गरि सुचना प्राप्त भएको र आन्दोलनका लागि जनमत तयार पार्न केन्द्रिय प्रतिनिधिका रुपमा रामचन्द्र पौडेल (सम्माननिय राष्ट्रपति ) धौलागिरी अञ्चल कमाण्डरका रुपमा आउने बिषय जानकारी गराए । कुराकनी भयो बागलुङमा गोप्य र बिशेष बैठक गर्ने सल्लाह भयो ।
निर्धारित भए बमोजिम मंसिर १७ गते साँझ होटल दुर्गाको भरखर खरिद गरी सामान सार्दै गरेको घरको सिरान तलामा हामि दुईजना मात्र गोप्य बसि अर्को एउटा मिटिङ गर्न केहि समिक्षा गर्यो । उता पञ्चायत बडो जोडमा थियो । राजाको सवारीको तयारीमा थियो । भय र त्रासमा यो सब भईरहेको थियो ।
हामिले तत्काल एउटा बैठक राख्ने तय गर्यो । गोविन्द बाले एक दुई दिन पश्चात त्यो बैठक राख्ने भन्दा भन्दै चिरञ्जिवी नारायण भारिको घरमा सोहि दिन राति १० बजे बस्ने प्रस्ताव मैले राखें । मैले ढिला गर्न नहुने सुझायँ पनि उहाँले हुन्छ भन्नु भयो । उहाँलाई तपाई यता आएको धेरैले चाल पाई सके अब ढिला नगरी काम सक्नु पर्छ भनेपछि ल त व्यबस्था मिलाउ भन्नु भयो । म बैठक राख्ने वाताबरण मिलाउन भित्री बाटो चिरञ्जिवि नारायणको घर तर्फ लाग्दै थिए बाटोमा भैरहवा काङ्ग्रेसका नेता गौडकोट निवासी शालिग्राम उपाध्याय भेटिनुभयो । काम बिशेषले जन्मघर बागलुङ आउनु भएको रहेछ ।
नातामा बाबु छोरा पनि पर्ने भेटेर गफिने ईक्षा राख्नुभयो । मैले खुसुक्क गोविन्द बा पनि यतै भएको बताए र खाना खाएर भेट्ने गरि छुट्यौं र भारी निवास तिरै लागें । भारी परिवारको काङ्ग्रेस पार्टिमा ठुलो योगदान छ, मनमा कुरा गुन्दै भाराी निवासमा पछाडि बाट छिरें । चिरञ्जिवी भारीसंग भेटी अहिले राति १० बजे त्यहाँ बैठक बस्ने कुरा तय गरि फेरि गोबिन्द बालाई भेट्न पुगेँ । बा लाई यो पनि बताए कि शालिकराम जी पनि यतै हुनुहुन्छ भेट्न आउँदै हुनुहुन्छ, वहाँलाई पनि बैठकमा राख्दा के हुन्छ? बाले यो प्रश्न नचुहाउँदै बोलाउ बोलाउ भन्नु भयो । हामि १० बजे भित्रि बाटोबाट भारी निवास जुट्ने गरि छुट्यौं । ९ बजे करिब शालिकराम जी मेरो घर आउनुभयो, मैले बैठकमा बस्ने बताए । सगै एउटा साथी थप बडो कामका छन भन्दै खेमलाल शर्मा (बाघमारा साईला बा ) को नाम लिनु भयो जो भुपु सैनिक हुनुहुन्थ्यो । मैले जानेको मान्छे, हुन्छ नी भनेर पछाडीको बाटो भारी निवास आउन भने ।
अस्पताल रोडमा रहेको भारी निवास पछाडि एउटा बिरामी सुताउने छाप्रो थियो । जो खाली थियो, हाम्रो मिटिङ सोहि ठाँउमा करिब १ घण्टा बस्यो हामि ५ जना मात्र, गोबिन्द बा, म, सालिकराम, चिरञ्जिवी र बाघमारा साईला बा । यहाँ बैठक बस्यौं र निम्न निर्णय गरियो ।
१. कार्यक्रम स्थल प्रवन्ध चिरञ्जिवी भारीले गर्ने,
२ः प्रचार प्रसारर पुरानो पुस्तालाई गोबिन्द बा ले र नयाँ पुस्ता लाई जगदीश उपाध्यायले गर्ने,
३ ः भोजन तथा आवास प्रबन्ध जगदीश उपाध्याय ले मिलाउने,
४ः सुरक्षा प्रबन्ध खेमलाल शर्माले मिलाउने
यति निर्णय भए पश्चात तत्काल शालिकराम जी ले रु ५०००!– उपलब्ध गराउनुभयो र हामि आ आफ्नो ढङ्गले छुट्यौं ।
मङ्सिर २६ गते रामचन्द्र पौडेल बागलुङ आउने तय थियो । हामि आ आफ्नो जिम्मेवारीमा लाग्यौंगोबिन्द बा गाँउ तिर लाग्नु भयो, म सदरमुकाम र वरपर लागें, ब्यापक खवर गरियो, युवाहरुमा निकै उत्साह देखियो ।
२६ गते आ आफ्नो तरिकाले खुटुर्के अहिले मालढुङ्गा पुग्ने सुचना गरेका थियौं । करिब एक सय जना भन्दा बढि युवा बिद्यार्थि त्यहाँ पुग्यौं । पर्वत तिरबाट आएका साथिहरु नेता रामचन्द्र पौडेल र साथमा आउनु भएका ने बि संघ उपाध्यक्ष लक्ष्मी आचार्यलाई हाम्रो साथ लगाएर फर्किनु भयो । हामी बडो जोशका साथ माईकोस्थानको उकालो हुदै बागलुङ बजार तर्फ लाग्यौँ । सम्योग यस्तो प¥यो की कार्यक्रम स्थल जिम्मा लिने भारी जी आफ्नो छोरीको अध्ययनको प्रसंगमा देहरादुन जानुभएछ, सुरक्षाको जिम्मा लिनुभएका साईला बा शालिकरामका साथ उपचारलाई संगै जानुभएको फर्किनु भएन ।
गोबिन्द बा भने आफ्ना पुराना साथि भेट्दै धेरैटाढ पुग्नु भएछ, ढिलो गरि साँझमा केहि साथिहका साथ मेरै घर लोकतान्त्रिक चोकमा नेता रामचन्द्र पौडेल, लक्ष्मि आचार्य सहित हामी ने बि संघका शयौ साथिहरु मेरा पिताजी सहितको परिवार बसेर जन आन्दोलनको स्वरुपका बारेमा छलफल गरि रहेका थियौं ।
गोबिन्द बा सहितको नेता कार्यकर्ताको प्रवेश संगै मण्डले हरुको आक्रमण सुरु भयो, ने बि संघका सचिव रघुपति शर्मा, शिव कँडेल, नवराज पौडेल, शेखर कँडेल, टोलनाथ शर्मा, पुर्ण हमाल, ढक प्रसाद कँडेल, गुरु कँडेल, देवी कँडेल, नारायण कँडेल, लगायत थुप्रै साथिहरु माथि निर्मम् कुटपिट भयो । नेता राम चन्द्र पौडेलको घाँटिमा बेरेको गलबन्दि दोहोरो तानेर झन्डै ज्यानै लिन लागेको बेलामा जसो तसो म पुगि उनिहरु सङ्गबाट गलबन्दि फुस्काएर ज्यान जोगाउन सकियो । गोबिन्द बालाई लतार्दै भुईमा लडाएका थिए र पनि हामिलाई संयम हुन भनि रहनु भएको थियो । धेरै साथिहरु, कुटिए पिटिए, लखाटिए, तहस नहस भयो, तब पुलिस घरमा पस्यो । हामि त्यहाँ भएका मध्य रामचन्द्र पौडेल, गोबिन्द बा, लक्ष्मि आचार्य र मेरा पिता जी युक्ति बल्लभ उपाध्यायलाई नियन्त्रणमा लियो । बाकि साथिहलाई पुलिस र मण्डले मिलेर कुट्दै बागलुङ बजार कटाए । करिब रातको ११ बजेको थियो होला, हामिलाई खाना खान पनि दिएका थिएनन् । एकाएक सुनसान भयो, प्रहरिलाई केआदेश आयो कुन्नी आज रात भरिमा बागलुङ छोड्नु नत्र जहाँ देख्यो त्यहि गोलि हान्छौं भन्दै हामिलाई छोडेर फर्किए । तब मात्र बाहिरि स्वर बुझ्न थाल्दा धेरै साथिहरु घाईते भएका रहेछन ।
यो सबै दृश्य तत्कालिन प्रधानपञ्च टिकाराम सापकोटा एउटा सज्जन मान्छेका सामु भएको थियो, रामचन्द्र पौडेललाई भेट्ने बहानामा हाम्रा गतिबिधि नियालेर त्यहि वरपर बसिरहनु भएको थियो ।
यसै बिचमा पार्टिको सात सदस्यिय जिल्ला कमिटि समेत चयन गरिएको थियो । बिहान फेरि सबैजना जो जो भेटियों संगै बागलुङ बजारमा भएका प्रजातन्त्रवादी साथिहरुलाई भेट्दै म्याग्दी बेनी तर्फ लागियो ।
बागलुङ जिल्ला र म्याग्दिको सिमाना ढोडेनी पुग्दा त्यहाँ ठुलो संख्यामा पञ्च, मण्डले र प्रहरीको उपस्थितिमा म्याग्दि पस्न दिईएन । घरेलु हतियार लाठि भाटा र पुलिस सहितले उता छिरे मारेर कालिगण्डकिमा फालिदिने हर्कत देखाए । पछि हामिले रणनीति बदलेर पारिको बाटो नाईलिवाङ, पाङ, बलेवा, फलेबास ज्ञादि गर्दै पर्बत बागलुङका अरु भागमा पुग्ने निधो गरि गोबिन्द बा, रामचन्द्र पौडेल लक्ष्मि आचार्य, नवराज पौडेलहरु पर्बत तर्फ लागे । बाँकि साथिहरु सङ्ग म बागलुङ फर्किने क्रममा उपल्लाचौरबाट मलाई गिरफ्तार गरि पिट्दै, कुट्दै, लतार्दै घिसार्दै जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा थुन्यो । उता पर्बत फलेवास काँग्रेस नेता डिल्लिराज पौडेल, गंगाराज पौडेलका घरमा त्यस भेगका साथिहरु संगै बसेका बेला पक्राउ गरि रामचन्द्र पौडेल, गोबिन्द बा, लक्ष्मि आचार्यलाई बागलुङ ल्यायो, नवराज पौडेल भने भाग्न सफल भएछन । यता अरु विद्यार्थी नेताहरु गाउँ गाउँबाट पक्राउ गर्दै, ल्याउदै कोच्दै गर्न थाल्यो ।
यसरि पक्राउ पर्नेमा रघुपति शर्मा, शेखर कँडेल, पुर्ण हमाल, गिरि प्रसाद कँडेल, ईश्र्वरी कँडेल, ऋषिराम कँडेल, बिष्णु गिरी, देबि प्रसाद कँडेल, ढक प्रसाद कँडेल, धनिश्वर कँडेल लगायतका साथिहरु लाई संघ संस्था नियन्त्रण ऐन, राजकाज र शान्ति सुरक्षा ऐन जस्ता मुद्दा लगाएर राखियो ।
उता माघ ५ गते सर्वोच्च नेता गणेशमान सिंह ज्युको नेतृत्वमा २०४६ फागुण ७ गतेबाट जनआन्दोलन गर्ने घोषणा सभा भईरहदा यता भने हामिलाई सोहिबेला पुरपक्षका लागि थुनामा जेल चलान गर्ने फैसला गर्यो । अब सुरु भयो हाम्रो जेल यात्रा । फागुन ७ बाट जन आन्दोलन सुरु भयो, बागलुङमा पनि आन्दोलन भए । फेरि थप साथिहरु जेल मा थपिए । नवराज पौडेल, मणिभद्र चालिसे, हिरासत सम्मको यात्रा धेरै साथिले गरे । केहि साथि धितो धरौटीमा छुटे । रामचन्द्र पौडेल, गोबिन्द बा, म, लक्ष्मि आचार्य, मणिभद्र चालिसे र नवराज पौडेल जनआन्दोलनको सफलता पछि मुद्दा खारेज संगै २०४७ बैसाख २ गते जेल मुक्त भयौँ ।
गोबिन्द बा संगैको मेरो जेल यात्रा
जेलको यो बसाई मेरालागि एउटा विश्व बिद्यालय नै बन्यो । नेता रामचन्द्र पौडेल, गोबिन्द बा, अनि हामि राजनैतिक बन्दीका बिच एउटा जेल बसाईको मार्ग चित्र कोरियो यसले मुल राजनीतिक बहस चलाउने, जेल बाहिरका साथिहरु संग समन्वयका लागि सम्पर्क सुत्र पहिल्याउने र सुचना आदान प्रदान गर्ने, भित्र आफ्नो व्यक्तित्व बिकास गर्दै सम्भाब्य लामो जेल जिवनलाई सामना गर्ने कला बिकास गर्ने जस्ता कामका प्रार्थमिकतामा राखि दिनचर्या अनुकुल बनाउन आरम्भ गरियो । साँच्चिकै यो जेल जिवनमा गोबिन्द बा र नेता रामचन्द्र पौडेल दिक्षित हुने अबसर मैले प्राप्त गरें । २०४६ साल चैत्र २६ गतेराति जन आन्दोलनरत नेताहरु र राज बिरेन्द्रका बीच भएको सफल वार्ता पछि शाहि घोषणा द्वारा दल माथिको प्रतिबन्ध हट्यो, ३० बर्षे पञ्चायती ब्यवस्था अन्त्य भई बहुदलिय प्रजातन्त्र पुनरस्थापना भयो ।
खुला राजानीति र गोबिन्द बा
प्रजातन्त्रको पुनस्र्थापना पछि ब्यापक सङ्गठनमा लागियो, पार्टिको जग हाल्ने काममा गोबिन्द बाका साथ जिल्लाका ६२ वटै गाबिसका सबै वडा सम्म पैदलै हिडेर सङ्गठन गर्नु र त्यस ताकाका घटनाक्रम र सम्झनाहरु अविष्मरणिय छन । सन्त नेता कृष्ण प्रसाद भट्टराईज्युको नेतृत्वमा सरकार बन्यो, यो सरकारले एक बर्ष भित्र संबिधान बनाई आम निर्वाचन गरि सम्सद निर्माण गरि सरकार गठन गर्यो । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा काँग्रेस पार्टिको बहुमतको सरकार बन्यो । बागलुङ जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा चुनाव जितायौ, गोबिन्दबा माननिय सांसदको रुपमा संसद भवन छिर्नुभयो । सरकार देश निर्माणका लागि अगाडी बढ्यो, भनिन्छ सरकारको २०४८–२०५१को यो तिन बर्षिय अबधी स्वर्ण युग हो । बिडम्बना २०५१ मा बिघटनको संघारमा पुग्यो, मलाई याद छ, जब नेतृत्व तहमा मनमुटाव बढिरहेको थियो नेता त्रय गणेशमान जी, किसुन जी र गिरिजा बावुलाई संगै राखेर “बिनाश काले बिपरित बुद्धि” जनताका कुर्वानीबाट बनेको यो सरकार र सम्सद बिघटन भए ठुलो क्षति काँग्रेसले बेहोर्नु पर्छ, नेताहरु हठ छोड़नोस यो सम्सद र सरकार बचाउनु होस् भन्दै गर्दा धेरैले वहाँलाई छोटि मुह बडिवात भनेर पनि भने तर बास्तबमा त्यो हिम्मत अरु नेता साम्सदमा भएको भए त्यो दुरभाग्य हुने थिएन । सरकारमा क्रमस मन्त्रीहरु नियुक्त हुदै थिय, सांसदहरु शक्तीकेन्द्र धाउदै थिय मन्त्री बन्ने होट थियो, एकदिन प्रधानमन्त्री गिरिजा बावुलाई भेट्न जानेक्रममा म पनि गोबिन्द बा कासाथ थियँ, गिरिजा बाबुलाई भेट्यौं, धेरै साम्सद मन्त्री पद माग्न पुगेका थिए तर गोबिन्द बा गिरिजा बावुलाई सुझाउँदै भनि रहनु भएको थियो गिरिजाबावु अहिले नै क्याबिनेट मन्त्री बनाउदै हुनुहुन्छ ।
भोली के दिनु हुन्छ ? हामिलाई राजपाठको अनुभव पनि त छैन “ यसो भन्दा गिरिजाबाबुले “गोबिन्जी म तपाई संग पछि छुट्टै कुरा गर्छु“ भन्नु भयो र हामि बाहिर लाग्यौं । यी सबै घटनाक्रम र संगतले मेरो नजरमा गोबिन्द बा एउटा लामो दुरिको सवार घोडा जस्तो, नबिसाउने, नरिसाउने, नरन्कने, नसन्कने, नचम्कने, नहस्कने, स्वभाव, कर्तव्य निष्ठ, बिचारवान, सिद्धान्त निष्ठ, अग्रज र परिपक्वता लाईसम्मान गर्ने हुनुहुन्थ्यो । मैले धेरै गुण सिकेकोछु, वहाँको आदर्श पथमा सहयात्रीका रुपमा धेरैलामो यात्रा गरेको छु । वहाँका खुला राजनैतिक यात्रामा सबै पाठक अनभिज्ञ हुनुहुन्न, फेरि पनि कलम चलाउने नै छु । आज १३ औं दिनको पुण्य तिथिमा स्वर्गिय गोबिन्द बा प्रति श्रद्धा सुमन अर्पण गर्दै बैकुण्ठ वासको कामना सहित सकल परिवारमा गहिरो समवेदना अर्पण गर्दछु ।
जय नेपाल!
लेखक उपाध्याय नेपाली काँग्रेस बागलुङका पूर्व उपसभापति हुन भने हाल महासमिति सदस्य हुन ।