शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ को १६, ‘ङ’ मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य बन्न नपाउने व्यवस्था छ । तर यस नियमलाई उल्लंघन गर्दै बागलुङ नगरपालिका-८ सिगानाको भगवती प्राविका शिक्षक सुरेश मल्ल नेकपा एमालेको वडा कमिटिको अध्यक्षमा चुनिएका छन ।
यदि शिक्षा ऐन विपरित पाईएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाईने स्पष्ट नियम रहेता पनि ऐनलाई लत्ताएर मल्ल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार भएको वडा तहको अधिवेशनमा बानपा-८ सिगानाको वडा अध्यक्ष चुनिएका हुन ।
मल्ल अवकास अगावै राजनीतिक दलको कार्यकारी वडा प्रमुख पदमा बसेका हुन् । यस बारेमा मल्ले आफु अवकास लिने तयारीमा रहेकाले राजनीतिमा प्रवेश गरेको उनले बताए । ‘म अब अवकास लिने तयारीमा छु, स्थायी भएको पनि ३० वर्ष पुग्न लाग्यो, शिक्षकबाट अवकास लिने योजना अनुसार एमाले सिगानाको वडाध्यक्षमा बसेको हुँ,’ उनले भने ।
आफु अवकास लिने बताए पनि उनले अबकास भने लिईसकेका छैनन् । बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले भने अवकास अगावै राजनीतिमा सक्रिय भएको पाईएमा कारबाही हुने बताए ।
‘शिक्षक अवकास बिनानै राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्नु शिक्षा ऐन विपरित हो, त्यस्तो अवस्थामा शिक्षकले एक पद छाड्नुपर्छ,’ उनले भने,‘ अरु ठाउँको पनि केही गुनासाहरु हामीकहाँ आएका छन् । यस बारेमा बुझेर हामीले उहाँहरुलाई पत्राचार गर्छौं । शिक्षा ऐनमा राजनीति गर्ने व्यवस्था छैन दुईटा मध्ये एउटा काम छाड्नुपर्छ ।’ यसरी स्थायी शिक्षक र कर्मचारी नै राजनितिक दलको कार्यकारी पदमा बस्दा सवै पक्षबाट टिकाटिप्पणी हुँदै आएको छ ।