नारायण रिजाल, बागलुङ ! साविकको धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा जेहेन्दार र विपन्नलाई निःशुल्क रूपमा पठन–पाठन गर्नका लागि अक्षय कोषको स्थापना गरिएको छ । निवर्तमान स्ववियु सभापति सुदिप सागर कंडेलको नेतृत्वमा दुई वर्ष पहिलेको तिहारमा देउसी भैलो खेलेर शुभारम्भ गरिएको अक्षकोषमा १ करोड पुगेपछि मंगलबार एक कार्यक्रम गरि क्याम्पसलाई हस्तान्तरण गरिएको छ । कोषका निम्ती जम्मा भएको कुल १ करोड ९ लाख ४१ हजार ६५१ रुपैयाँ ३७ पैसा रकम क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको निवर्तमान स्ववियु अध्यक्ष एवं अक्षयकोष संकलन समितिका संयोजक कंडेलले जानकारी दिए ।
कोष निर्माणका लागि देउसीभैलो सँगै क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका थिए । कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने कँडेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले एक करोड रुपैयाँ बराबरको ‘धौलागिरि बहुमुखी क्याम्पस छात्रवृत्ति कोष’ निर्माण अभियान थालेको थियो ।
कोष निर्माणका लागि देउसी भैलो मार्फत ४५ लाख रुपैयाँ संकलन भएको थियो भने बागलुङ महोत्सव संचालनका बेला बागलुङ उद्योग बाणिज्य संघबाट १० लाख रुपैयाँ, बागलुङ नगरपालिकाबाट ५ लाख रुपैयाँ, तमानखोला गाउँपालिकाबाट ५ लाख रुपैयाँ, काठेखोला गाउँपालिकाले तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले एक लाख रुपैयाँ प्रदान गरिएको कंडेलले जानकारी दिए । त्यसैगरी अन्य रकम क्याम्पसमा कार्यरत प्रध्यापक, कर्मचारी शिक्षाप्रेमी जिल्लाका अन्य स्थानियतहबाट प्राप्त भएको थियो । “क्याम्पसमा विद्यार्थी संख्या घट्दो क्रममा रहको छ, उच्च शिक्षाका लागि विद्यार्थी कसरी रोक्न सकिन्छ भन्ने उद्देश्यले निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोष निर्माण गरेका हौँ”, कँडेलले भने,–“स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र संकलन गरे तोकिएको रकम पुरा गरी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका छौं । यसै शैक्षिक सत्रदेखी विद्यार्थीलाई प्रदान गरिने छ ।” विद्यार्थीहरुको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिईन कंडेलले जानकारी दिए ।
क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य यो कोष निर्माण गरिएको हो । कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढाउन कोष निर्माण गरिएको निवर्तमान स्ववियु कोषाध्यक्ष सृष्टी आचार्य बताउँछिन ।
आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा. सुदर्शन सिलवालले जानकारी दिए । कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने उनको भनाई छ “क्याम्पसमा अध्ययनरत केही विद्यार्थीलाई अहिले पनि छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन”, उनले भने, “क्याम्पसमा स्थापना गरिएको एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्याम्पसको शैक्षिक गतिविधिलाई चलायमान बनाउने छौं ।”
धवलागिरी बहुमुखी क्याम्पसमा स्थापन गरिएको अक्षयकोषले देशभरीकै क्याम्पसका लागि नयाँ सन्देश दिएको कोष हस्तान्तरण समारोहमा उपस्थित भएका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क के.सी.ले बताए । उनले अन्य क्याम्पस भन्दा धवलागिरि क्याम्पस अब्बल रहेको भन्दै सरकारले गर्नुपर्ने काम विद्यार्थीको अगुवामा भएको बताए । उनले अहिलेको समयमा प्रजातान्त्रिक आन्दोलनमा पनि लड्न पर्छ कि पर्दैन भन्ने विषय स्ववियुमा वहस हुन आवश्यक रहेको बताए ।

क्याम्पसमा संकलन भएको कोषको कार्यविधि बनाएर जसका लागि लक्षित गरिएको उसका लागि नै छात्रबृत्ति पर्दान गरिने स्ववियु सभापति आश्मिन शेखले बताईन । शेखका अनुसार क्याम्पस प्रसासन र स्ववियुको प्रत्यक्ष सहभागितामा कार्यविधि निर्माण गरी कोषलाई कान्र्यान्वयन गरिने छ ।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दिन बहादुर थापा लगाएतले शुभकामना मन्तब्थ व्यक्त गरेका थिए ।
छात्रवृत्ति कोषका सयोजक एवम् निवर्तमान स्ववियु सभापति सुदिप सागर कँडेल अध्यक्षता स्ववियु अध्यक्ष अश्मिन शेखको स्वागत निवर्तमान स्ववियु उपाध्यक्ष दिपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहयोगदातालाई सम्मान गर्नुका साथै सहयोगीको शिलालेख अनावरण समेत गरिएको थियो । कार्यक्रममा सहयोग दाताको सम्पुर्ण विवरण रहेको अक्षयकोष विशेषाङ्क धवलागिरि दर्पण पुस्तक सार्वजनिक गरिएको थियो ।

