बागलुङ - बागलुङ नगरपालिकाले बागलुङ बजार र आसपासका क्षेत्रमा हरेक शनिबार सरसफाई अभियान संचालन गर्दै आएको छ । नगरपालिकाले निरन्तर शनिबार सफा र सुन्दर बागलुङ बजार अन्तरगत सो अभियान संचालन गर्दै आएको हो । नगरपालिकाले शनिबार बागलुङ नगरपालिका–१ रामरेखा बांगेचौरमा रहेको अग्लो झोलुङ्गे पुल र सहिद स्मृति पार्क वरी परि सरसफाई कार्यक्रम संचालन गरेको छ । सरसफाई अभियानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक,लप्रहरी, नेपाली सेना, कर्मचारी, बैंकर्स, जेसिज, लायन्स लियो र विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहयोग र सहभागिता थियो । बागलुङ नगरलाई सफा र सुन्दर नगरको रुपमा परिचित गराउनका निम्ती हरेक शनिबार सरसफाई अभियान संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । पहिलो चरणमा बजार प्रवेशद्धारकै रुपमा रहेको र बागलुङकै पर्यटकिय क्षेत्रको रुपमा परिचित भएको झोलुङ्गे पुल र सहिदपार्क क्षेत्रलाई सरफाई गरिएको उनले बताए । ‘यो अभियान अघिल्लो साता देखी सुरु गरेका हौं, झोलुङ्गे पुल र पार्क क्षेत्रमा दैनिक पर्यटक आउने जाने यहाँको सरसफाईले यहाँ आउने पर्यटकका लागि पनि आर्कषण बढ्ने छ, श्रेष्ठले भने–‘शनिबारको दिन निरन्तर गर्नेछौं, पहिलो चरणमा विभिन्न सार्वजनिक स्थानहरुको सरफाईमा जुट्ने छौं । विस्तारै टोलबासी र समुदाय सँग सहकार्य गरेर अन्य क्षेत्रको पनि नियमित सरसफाईमा जुटौं भन्नेछौं । उनले अभियानमा जोडिएका सबैलाई धन्यवाद दिँदै यो कार्यमा नगरपालिकाले निरन्तर सहयोग अपेक्षा गरेको बताए