बागलुङ, - बागलुङ महोत्सव एक दिन थपिने भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबार (आज) सम्मलाई महोत्सवको अवधि तोकिएको थियो । महोत्सवको समापन समारोह मङ्गलबार हुने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । मङ्गलबार चर्चित गायिका रचना रिमाललगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले बताए ।
भलिबल, लोकदोहोरीलगायत प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भने सोमबार नै हुने जनाइएको छ । सोमबार गायक प्रकाश दुतराज, विष्णु खत्री, गायिका प्रीति आलेलगायतको कलाकारले प्रस्तुति दिनेछन् । महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहका छन् । आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो ।
महोत्सवको प्रतिटिकटबाट रू. दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।
महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक ‘स्टल’ रहेका छन् ।