मध्यपहाडी लोकमार्ग  बागलुङ खण्ड काम अलपत्र परेपछि, स्थानीय आन्दोलित

  • जेठ २३, २०८०

बागलुङ,-  मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन् । लामो समयदेखि ठेकेदारको लाहपरबाहीका कारण कालेपत्रेको काम अलपत्र भएपछि काठखोला गाउँपालिका—५ र ६ का स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले लोकमार्ग कालोपत्रेको माग गर्दै ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन् । 
निर्माण कम्पनीको लाहपरबाहीले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएपछि स्थानियले चरणबद्ध आन्दोलन गरेका छन । पटक–पटक म्याद थप गर्दा समेत मध्य पहाडी लोकमार्गको बागलुङ बजारदेखि बिहुँसम्मको २५ किलो मिटर कालोपत्रे नभएपछि स्थानीयहरु आन्दोलित भएका हुन ।  आन्दोलित स्थानीयले पटक पटक म्याद थपेर काम नगर्ने निर्माण कम्पनीको ठेक्क रद्द गर्न माग गर्दै निर्माण कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् । आफुहरुको माग पूरा नभएसम्मका लागि ताला नखोल्ने नागरिक आन्दोलनका अभियन्ता भरत सापकोटाले बताए । 
 ‘हामीले विगतमा सडक कालोपत्र चाँडो गर्न घचघचाउँदै आएका थियौं, तर हामीसंग पटक पटक सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरिएको छ,’ उनले भने,‘अब यो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्छ र यो सडक निर्माणको काम चाँडो गर्नुपर्छ भन्ने हाम्रो माग हो । माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ आईतबार दिउँसो ११ बजेदेखि सुरु भएको आम नागरिकहरुको आन्दोलनले दिउँसो साढे १२ बजे कार्यालयमा ताला लगाएको हो । उनीहरुले करिब डेढ घण्टा सडक अवरुद्ध समेत पारेका थिए ।
 लोकमार्गको रुपमा काम थालिएपछि नयाँ ट्रयाक खोलिएका ठाउँहरुमा सडक कालोपत्रे भईसकेर पनि पुनः मर्मत गर्ने बेला भैसक्दा पनि अक्षेत बिहुँ खण्डमा काम नभएको र बर्खामा हिलो र हिउँदमा धूलोले स्थानीयलाई निकै सास्ती दिईरहेको भन्दै स्थानीय राजनीतिकर्मी, शिक्षक, विद्यार्थी र आम समुदायले सडक अवरुद्ध गर्दैै आन्दोलन तीब्र बनाएका छन् । सडक कालोपत्र नहुँदा विद्यालय जाने बालबालिकाले निकै सास्ती खेप्नु परेको विद्यार्थी प्रकाश कँडेल बताउँछन् । ‘या सडक कालोपत्रे नहुँदा सबैभन्दा धेरै सास्ती हामी विद्यार्थीले खेप्नुपरेको छ,’ कँडेल भन्छन्,‘हामी विद्यालय आउँदा जाँदा आउने सवारी साधनले उडाउने धूलोले गर्दा स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।’
 बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आन्दोलनको नेतृत्व गरिरहेको छ । निर्णायक आन्दोलनमा अगाडि बढेकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेल बताउँछन् । २१ गतेदेखि २५ गतेसम्म सरकारी नम्बर प्लेटका सबै सवारी साधनहरु आवतजावतमा रोक लगाईने, २६ गतेदेखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग पूर्णतः बन्द गर्ने आन्दोलनको कार्यक्रम रहेको उनले जानकारी दिए । 
‘यो हाम्रो निर्णायक आन्दोलन हो,’ उनले भने,‘विगतमा पनि हामीले विगतमा पनि पटक आन्दोलन गरेर समयमै काम सक्ने बाचा गरेर आन्दोलन टुंग्याएको थियौं । अब समस्याको समाधान गर्ने ग्यारेन्टी नभएसम्म आन्दोलन रोकिन्न ।’ जिल्ला प्रशासन कार्यालय मंगलबार बेलुका वार्ताका लागि बोलाएको उनले बताए । हामीलाई वार्ताका लागि गाउँपालिका आउन भनिएको छ, हामीले आन्दोलन भएकै ठाउँमा आउन भनेका छौं,’ उनले भने । सबै सरोकारपक्षलाई आन्दोलनबारे जानकारी गराएको र माग पूरा नभए सडक पूर्ण रुपमा बन्द गरिने उनले बताए । 
मध्यपहाडी लोकमार्गको माथिल्लो बिहुँ खण्डका निर्माणका लागि २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्नेगरी जिम्मा लिएको थियो । निर्माण कम्पनीको तर्फबाट सूर्य कन्ट्रक्सनले सुरुमा काम थालेकोमा पछि पेटी ठेकेदार रामकाजी श्रेष्ठको श्रेष्ठ निर्माण सेवालाई काम गर्न दिएको थियो । उनले पटक पटकका आन्दोलनमा उपस्थीत भएर काम सक्ने बाचा गरे पनि काम अगाडि बढेको छैन । निर्माण कम्पनीले हरेक असार मसान्तमा केही काम गरेजस्तो गर्ने र भुक्तानी लिएपछि वेपत्ता हुने गरेका छन् । मध्यपहाडी लोकमार्गले काम गरेको रकम समेत नदिएका कारण काम परा गर्न नसकेको श्रेष्ठले स्थानीयसंग बताउने गरेका छन् । 
लोकमार्गको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ—घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए । लोकमार्ग निर्माण आयोजना कार्यालय पर्वतले भने पटक—पटक म्याद थप्दा पनि काम पूरा नभएका कारण अब ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ ।
 ‘हामीले धेरै पटक म्याद थपेर काम सक्न भन्यौं,’मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख कल्पना अधिकारीले भनिन्,‘अब हामी ठेक्का रद्द गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तर्फ लागेका छौं । माथिल्लो खण्डको सूचना जारी भैसकेको छ । तल्ला खण्डको पनि भोली पर्सीमा सूचना प्रकाशित हुन्छ ।’
 लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ । लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी बागलुङ खण्डमा नै  १ सय ३४ किलोमिटर पर्छ । पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदुरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ
 

प्रतिक्रिया