बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक्षमा ६ जना र समानुपातिकमा ७ गरी १३ जनाको नाम सिफारिस गरेका छ ।
प्रदेश क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ सभापती दलबहादुर श्रीष राना, पुर्व महाधिवेशन प्रतिनिधि एवं नेविसंघका पुर्व उपाध्यक्ष युवा नेता सागर परियार, पुर्व महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य हरिप्रसाद आचार्य, पुर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि ओमकार थापा, काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं जैमिनी नगरपालिकाका निवर्तमान नगरप्रमुख इन्द्रराज पौडेल र गण्डकी प्रदेशका आमन्त्रीत सदस्य कमलराज सापकोटाको नाम सिफारिस गरेको प्रदेश क्षेत्रीय कार्यसमितिका सचिव बालकृष्ण शर्माले जानकारी दिए ।
प्रदेश समितिले समानुपातिक तर्फ काँग्रेस महासमिति सदस्य कल्पना पाठक हमाल, सिताराम रसाईली, शेरबहादुर विक, पुर्व जिल्ला सदस्य पदम बहादुर पुन, विष्णु बस्नेत खत्री, युवा नेता लक्ष्मण आचार्य र प्रदेश महाधिवेशन प्रतिनिधि एवं नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेलको नाम सिफारिस गरिएको सचिव शर्माले जानकारी दिए । विहिबार नै नाम सिफारिस गर्ने गरी क्षेत्रीय समितिको बैठक बसे पनि काँग्रेस बागलुङले निर्धारण गरेको शुल्कको विवादले शुक्रबार मात्र उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस केन्द्रीय समितिले लेबी बाहेक कुनै पनि शुल्क नलिने भनेपनि जिल्ला तहमा विपि स्मृति भवन निर्माणको प्रक्रियामा रहेको हुँदा केही शुल्क निर्धारण गरेको थियो । प्रदेश सभा क्षेत्रले संघिय क्षेत्रलाई नाम सिफारिस गरेको छ ।